१४ जेठ, चितवन । स्थानीय निर्वाचनको मतगणना काठमाडौं महानगरमा सकिँदासमेत भरतपुरमा भने अझै सकिएको छैन । माओवादी नेतृ रेणु दाहालले मेयरमा जित्ने सम्भावना बढ्दै जाँदा मतपेटिका साटिएको हुन सक्ने विवाद देखिएको छ । विवादकै कारण मतगणना समेत रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो । डायरीमा नोट गरिएको सिल नम्बर र मतपेटिकाको सिल नम्बर नमिलेपछि विवाद उत्पन्न भएको हो । नम्बर नमिलेका कारण मतपेटिका साटिएको हुनसक्ने आशंका देखिएको हो ।
मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक देखिएपछि आशंका उत्पन्न भएको हो ।

अब १९ र २० नम्बर वडाको मत गन्न बाँकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।
देवीले ४० हजार ९८० मत पाएका छन् भने रेणुको मत ४० हजार १९६ पुगेको छ । ठूलो मतान्तरलाई कम गर्दै रेणुले मेयरमा जित्ने सम्भावना बलियो बन्दै गएको छ । पछिल्लो घटनाले भरतपुरको मतगणनालाई झनै रोमाञ्चक त बनाएको छ कतै यही कारणले गणना रोकिने हो कि भन्ने आशंका पनि उत्पन्न भएको छ ।











