१४ जेठ, निजगढ । राजधानी काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको आज शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा फास्ट ट्र्याकको शिलान्यास गरेका हुन् ।
आइतबार फास्ट ट«याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको उल्लेख गरे । खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्याक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने अनुमान छ ।
सेनाले फास्ट ट्याक निर्माणलाई १० क्षेत्रमा विभाजन गरेर निर्माण गर्न लागेको जानकारी शिलान्यास कार्यक्रममा दिइयो । सेनाले अन्तर्राष्टिय परामर्शदाता नियुक्त गरेर यसका लागि आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति प्रवन्ध गर्ने तयारी गरेको छ ।
सेनाले यसको निर्माणको कार्यविधि बनिरहेको र निर्धारित समयमै निर्माण सक्ने जनाएको छ ।
फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न ९९ स्थानमा पुल बन्नेछन् भने ६ वटा आकासे पुल हुनेछन् । मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्ने जानकारी शिलान्यास कार्यक्रममा दिइयो ।
भारतको ठूलो दवावका विपरीत सरकारले फास्ट ट्रयाक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेसँगै आइतबार निर्माण प्रारम्भ समेत भएको हो । फास्ट ट्रयाक निर्माण गर्न भारतलाई नदिने लगभग निश्चित भएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रधानन्यायधीश प्रकरणको वाहाना वनाएर पदबाट राजिनामा दिएका थिए । निधिले भने विगतदेखि नै फास्ट ट्रयाक निर्माण भारतलाई नै दिनका लागि कसरत गर्दै आइरहेका थिए ।
फास्ट ट«याक ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।












