१४ जेठ, काठमाडौं । कांग्रेस उम्मेदवारलाई करिब २० हजार मतान्तरले हराउँदै काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका थिए भने शाक्यले ६४ हजार ९१३ मत पाएका थिए ।
१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएको हो भने औपचारिक घोषणा आइतबार विहान मात्र भएको हो ।
मेयर उम्मेदवारमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना २३ हजार ४३९ मत ल्याएर तेस्रो स्थानमा परेकी छिन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।
काठमाडौंको उपमेयरमा भने २४ हजारभन्दा बढी मतान्तरले कांग्रेसले विजय प्राप्त गरेको छ । कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भएकी छिन् । उनले ५८ हजार ९५२ मत पाएकी थिइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत ल्याएर तेस्रो स्थानमा परिन् ।
काठमाडौंका स्थानीय निर्वाचनमा एमाले र राप्रपाले गठबन्धन गरेको थियो । तर एमालेले राप्रपालाई घात गरेका कारण राप्रपाका राजाराम श्रेष्ठ भारी मतान्तरले पराजित भएको विश्लेषण भैरहेको छ । अर्कोतर्फ कांग्रेसबाट मेयर पराजित हुनुमा केही मुख्य कारणहरु रहेको बताइन्छ । एमालेले चलाखीपूर्वक राप्रपासँग गठबन्धन गरेर राजावादी र हिन्दू धर्मको सहानुभूतिका भोट प्राप्त गर्नु एमाले विजयी हुनुको मुख्य कारण मानिएको छ ।
त्यस्तै दोस्रो कारणमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका व्यक्ति लोकप्रिय नुहुनु र एउटै परिवारका व्यक्तिलाई मात्र अवसर दिइनुले पनि काठमाडौंमा कांग्रेसलाई झट्का लागेको हो । मन्त्री पदमा आसिन नवीन्द्रराज जोसी दाइ राजुराजलाई टिकट दिइनु पनि हारको मुख्य कारण मानिएको छ । नवीन्द्रराज आफैं काठमाडौंको उपमेयर हुँदा विकासका काम नगरेको कुरा काठमाडौंको नेवार समुदायले सम्झिरहेकै छ । त्यसकारण पनि राजुराजलाई कम मत परेको स्पष्ट छ ।
कांग्रेस हार्नु र एमालेले जित्नुको अर्को मुख्य कारणमा कांग्रेसका धेरै मत विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले खोसिदिनु हो । एमालेका कार्यकर्ता र मतदाता कटिबद्ध भएका कारण उनीहरुले गठबन्धन गरेको राप्रपालाई त भोट हालेनन् भने रञ्जु दर्शना र किशोर थापालाई भोट हाले भन्ने कल्पना गर्न सकिन्न । हुन त रञ्जुलाई कांग्रेसका भोट काट्नकै लागि पूर्व एमाले कार्यकर्ता रञ्जुलाई एमालेकै योजनामा उम्मेदवार बनाइएको भन्ने हावा पनि नचलेको होइन । यही हावाले यतिवेला पात पनि हल्लाएको स्पष्ट भएको छ अर्थात् कांग्रेस पराजित भएको छ ।
माओवादी केन्द्र भने महानगरमा पत्तासाफ भएको छ । माओवादीको उम्मेदवारी फिर्ता भएको भन्ने सुरुवाती हल्लाका कारण पनि माओवादीका मतदाता अन्योलमा परेको देखिन्छ । अर्कोतर्फ माओवादी उम्मेदवारले जित्ने सम्भवना नदेखेरै कम्युनिस्ट मतहरु एमालेकै उम्मेदवारतर्फ गएको स्पष्ट हुन्छ । त्यसो त यसमा मिडियाहरुले समेत माओवादी केन्द्रका उम्मेदवारलाई कुनै स्थान दिएनन् । कांग्रेस, एमाले, विवेकशील पार्टी र किशोर थापालाई मात्रै काठमाडौंको मेयरका उम्मेदवार ठानी उनीहरुका विचारलाई मात्रै स्थान दिएको समेत देखियो । यसले गर्दा माओवादीको उम्मेदवारी फिर्ता भएको वा नभएको भन्नेप्रति मतदाता नै अलमलिए । यसको प्रभाव पनि माओवादीले खेपेको छ । जसको सरकार छ उही दलले स्थानीय निकायमा कब्जा जमाउने विगतको परिपाटी यसपल्ट भने अलिकति पनि लागू भएन । बरु तालमेलका नाउँमा माओवादीले पराजय मात्रै व्यहोर्न पुग्यो र काठमाडौंमा पनि भएको त्यही हो ।
यिनै प्रमुख चार कारणले काठमाडौंमा कांग्रेसले हार्यो, एमालेले जित्यो र माओवादी केन्द्र पत्तासाफ भयो ।












