११ जेठ, चितवन । स्थानीय निर्वाचनमा देशभरका मानिसको ध्यान खिचेको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहालले विजय हासिल गर्ने सम्भावना बढेको छ । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेकी दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउँदै जितको सम्भावनालाई बढाएकी छिन् । विहीबार साँझको मत परिणामअनुसार मेयर पदका प्रत्यासी एमालेका देवी ज्ञवालीले ३२०५५ मत पाएका छन् भने रेणु दाहालले ३०६७९ मत पाएकी छिन् । देवी र रेणुबीचको मतान्तर क्रमशः कम हुँदै जानुले रेणुले जित्ने सम्भावना बलियो बन्दै गएको हो ।
मंगलबार साँझसम्म देवी र रेणुको मतान्तर ३८ सयको हाराहारीमा रहेकोमा आज तेह्र सय मतान्तर हुन पुगेको छ । अब वडा नं १५ देखि २४ सम्म मत गणना हुन बाँकी छ । यीमध्ये अधिकांश वडाहरु नेपाली कांग्रेसको प्रभाव रहेका वडाहरु हुन् । यहाँबाट ज्ञवालीलाई भन्दा रेणुलाई बढी मत झरेको अनुमान गठबन्धनका नेताहरुले गरेका छन् भने पछिल्लो परिणामले यही देखाएको छ ।
पछिल्लो परिणाम अनुसार वडा नं २५ मा माओवादीका वडाध्यक्ष विजय भुजेलले जित हात पारेका छन् । तर, वडा सदस्यमा भने एमालेले जितेको छ ।












