९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज केहीबेरमा संसदमार्फत पदबाट राजीनामा दिँदै छन् ।
व्यवस्थापिका संसदलाई ३ बजे विशेष सम्बोधन गरेर आफूले पूरा गरेका कार्यभारबारे जानकारी दिँदै उनले राजीनामाको घोषणा गर्ने जानकारी माओवादीले दिएको छ। पूर्वसहमतिअनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नका लागि प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिने निर्णय माओवादी केन्द्रीय कार्यालयको बैठकले निर्णय गरिसकेको छ । सोही निर्णयका आधारमा उनले राजिनामा दिने भएका हुन् ।
प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार लम्बिएको थियो । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरिसकेपछि माओवादीले सत्ता हस्तान्तरण गर्न लागेको हो ।
प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।
सोमबार सुरु भएको संसदको बजेट अधिवेशनमा आज आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । ११ गते राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ ।












