३० वैशाख, काठमाडौं । राजधानी जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा विप्लव नेतृत्वको नेकपा माओवादीले ६ स्थानमा बम राखेको छ । विहानैदेखि विभिन्न स्थानमा बम राखिएका कारण पृथ्वी राजमार्गको यातायात व्यवस्था तनावग्रस्त बनेको छ । विभिन्न स्थानका बमहरु भने नेपाली सेनाले निस्क्रिय पार्नुका साथै हटाएको छ । सेनाले भने राजमार्गमा राखिएका बमहरु नक्कली भएको जनाएको छ ।
बम राखेकोले सडकमा नआउन भन्दै विप्लवका कार्यकर्ताले त्रास फैलाएको स्थानीयहरुले बताएका छन् । सेनाले बम निस्क्रिय पार्ने क्रममा बोरा र झोलाभित्र प्रेसर कुकर तथा डेक्चीहरु भेटिएको जनाएको छ । जुगेखोला, महादेवस्थान र गजुरीको घाटबेंसीलगायतका स्थानमा यस्ता नक्कली बम भेटिएका छन ।
सडकमा बम भएको हल्लाले राजधानी लगायत विभिन्न स्थानबाट संचालित यात्रुहरु तीन घण्टाभन्दा बढी रोकिएका थिए ।
धादिङ सदरमुकाबाट आएको देवीदत्त गणको प्राविधिक टोलीले आवश्यक निरीक्षण गरी शंकास्पद वस्तु हटाएपछि यातायात सञ्चालन भएको छ ।
विप्लव नेतृत्वको माओवादीले स्थानीय निर्वाचन विथोल्नका लागि शनिबार बन्दको घोषणा गरेको छ । बन्दलाई प्रभावकारी बनाउन माओवादीले शुक्रबार साँझदेखि शनिबार विभिन्न स्थानमा बम राख्ने तथा विष्फोट गराएको छ ।












