३० बैशाख, काठमाडौं । स्थानीय तहको चनाव अन्तर्गत पहिलो चरणमा आइतबार तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा आइतबार मतदान हुँदैछ । मतदातामा अझै पनि भोट कसरी हाल्ने भन्नेमा अन्यौल कायमै छ । मतदाता शिक्षा कार्यक्रम चलिरहेको भएपनि धेरै मतदाता अझै स्पष्ट हुन सकेका छैनन् । आइतबार बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको छ । मतदान गर्ने समयमा मतदाताले के गर्न हुँदैन जान्नु आवश्यक छ । मतदानका समयमा अपनाउनुपर्ने नियम नजानेरै उल्लंघन गरे पनि जेल पनि जानुपर्ने हुन्छ । त्यसैले यी कुरामा ध्यान दिऊँ :
मतदानपछि मतपत्र अरुलाई देखानु हुँदैन । यसरी देखाएमा मतदान अधिकृतले तत्कालै त्यस्ता मतदातालाई १५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।
-झुक्एिर पनि मतपत्र मतदान स्थलबाट बाहिर लैजानु हुँदैन । यस्तो गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । -एक मतदाताले एकपटक मात्रै मतदान गर्न पाउँछन् । अर्थात एक पटक मतदान केन्द्रमा गएर एक मतपत्रमा आफूले रोजेका सात उम्मेद्वारलाई मत दिनुपर्छ ।
-एक पटक भन्दा बढी मतदान गरेमा पनि २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । निर्वाचन सामग्री खोसे वा जफत गर्न खोजेमा एक लाख रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।
-मतदान स्थलमा हुलहज्जत वा दंगा गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । निर्वाचन सामग्री लुटे वा कब्जा गरेमा एक लाख रुपैयाँ जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।
-विस्फोटक पदार्थ तथा हतियार, लाठी, बन्दुक बोक्नु हुँदैन । यस्तो गरेमा दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुन सक्छ । -मतदान केन्द्रमा मोवाइल लैजान पाईंदैन । मतसंकेत गरेको तस्बिर खिच्न वा सार्वजनिक गर्न पनि पाईंदैन ।
-मतपत्र लिएर मतदान गर्न नचाहेमा मतदाताले त्यो मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्नुपर्छ ।












