२० वैशाख, २०७४ । गृहमन्त्री पदबाट कांग्रेस नेता विमलेन्द्र निधीले राजिनामा दिएपछि यस पदप्रति कांग्रेसकै नेतादेखि कमल थापा र विजय गच्छदारसमेतको दौडधुप सुरु भएको छ । कांग्रेसको भागवण्डामा रहेको मन्त्रालय भएको र निर्वाचनका समय भएकोले कांग्रेसभित्रबाटै गृहमन्त्री बनाउने तयारी भैरहे पनि राप्रपा अध्यक्ष कमल थापाले गृहमन्त्रालय पाए फेरि सरकारका फर्कने संकेत दिएका छन् । राप्रपाभित्र आन्तरिक विवाद चर्केर सरकारबाट बाहिरिने निर्णय गरे पनि थापा गृहमन्त्रालय पाएमा फेरि सरकारमै फर्कने सम्भावना रहेको माओवादी केन्द्रका एक मन्त्रीले उल्लेख गरे ।
अर्कोतर्फ विजय गच्छदारले उपप्रधानमन्त्री तथा गृह पाएमा फेरि सरकारका जाने संकेत दिएको जनाइएको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई गृहमन्त्री बनाएर गच्छदारलाई भौतिक पूर्वाधार मन्त्रालय दिने गरी कांग्रेस सभापति देउवाले तयारी गरेका छन् ।
गृहमन्त्रीका लागि कांग्रेस सांसद गोपालमान श्रेष्ठ समेत कसरतमा छन् । कांग्रेस विभाजनका समयमा देउवालाई साथ दिएका श्रेष्ठ गृहमन्त्री बन्ने सम्भावना रहे पनि रमेश लेखकको पल्ला भारी रहेको बुझिएको छ । राजनीतिक सक्रियता एवम् निर्णय क्षमताका कारण निर्वाचनका समयमा लेखकलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिने तयारीमा देउवा रहेका छन् । गच्छदार सरकारमा नआउने स्थिति रहेमा गोपालमानको मन राखिदिनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा उनले पाउने सम्भावना देखिएको छ ।
मंगलबार शीर्ष नेताहरु पार्टीका उम्मेदवारहरु छनौट गर्ने काममा व्यस्त भएकाले गृहमन्त्रीको टुंगो लाग्न नसकेको हो । आज साँझसम्म भने गृहमन्त्रीको टुंगो लगाउने गृहकार्यमा सत्ता साझेदार दल कांग्रेस र माओवादी लागेका छन् ।












