१९ वैशाख, काठमाडौं । पछिल्लो संविधानसभा निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी पार्टीले स्थानीय निर्वाचनमा भाग लिने प्रक्रिया सुरू गरेको छ। पार्टीले ‘देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा स्थानीय चुनावमा भाग लिने निर्णय बमोजिम निर्वाचन आयोगमा उक्त पार्टीले उम्मेद्वारी दर्ता गरेको हो। उक्त पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा गोर्की श्रेष्ठ र उप(मेयरमा सावित्री खरेललाई उम्मेद्वार बनाएको छ। ‘हामी आफ्नो पार्टी र मोर्चाको समर्थन भएको स्थानमा आफ्नै उम्मेद्वार उठाउने र अन्य स्थानमा देशभक्त तथा जनपक्षीय उम्मेद्वारलाई मत दिने हाम्रो निर्णय छ,’ उक्त पार्टीका बरिष्ट नेता सिपी गजुरेलले भने, ‘तर हाम्रो तर्फबाट ७५ वटै जिल्लामा उम्मेद्वार भने हुनेछन्।’ कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रसँग भने चुनावी तालमेल नगर्ने गजुरेलले बताए। ‘यी ४ वटा जनविरोधी दलसँग हाम्रो चुनावी तालमेल हुँदैन,’ गजुरेलले भने।
दोस्रो संविधानसभा वहिष्कार गरेको उनको दलले किन अहिले चुनावमा भाग लिँदैछ भन्ने प्रश्नको जवाफमा गजुरेल भने, ‘यो स्थानीय निर्वाचन हो र यसमा जनताका दैनिक जीवन र आवश्यकताका प्रश्न जोडिएका छन्। यसलाई बहिस्कार गर्नु भनेको हामीले जनतासँगको सम्वन्ध तोड्नु हो।’ उनका अनुसार अहिले नेपाली जनता असन्तोष भए पनि आन्दोलनमा जाने सोचमा छैनन् र त्यसै कारण चुनाव मार्फत जनताका आवश्यकता पुरा गर्ने र जनतासँग जोडिनु पर्छ। गजुरेलले १९ वर्ष पछि स्थानीय चुनाव हुन लागेकोलेयसलाई बहिष्कार
गर्न नहुने बताए ।












