१९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगि उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको जानकारी आयोगलाई प्राप्त भएको पनि जनाएको छ ।
काठमाडौंमा बिहान १० बजेदेखि नै विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।
काठमाडौ महानगरपालिकाको मेयरमा अहिलेसम्म पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसमा एक नम्बरमा स्वतन्त्रबाट किशोर थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने दोस्रो नम्बरमा विनोदकुमार क्षेत्री स्वतन्त्रबाटै र रन्जु न्यौपानेले तस्रो नम्बरमा उम्मेदवारी दर्ता गरेकी छन् । त्यस्तै चौथो नम्बरमा देशभक्त पर्यावरणीय सामाजिक मोर्चाका तर्फबाट सुरेन्द्र प्रसाद ढकालले उमेदवारी दिएका छन् । पाचौ नम्बरमा पनि स्वतन्त्रबाटै अमोट महर्जनले मेयरमा उम्मेदवारी दिएका छन् ।
प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले भने अन्तिम समयमा मात्रै उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।













