१८ बैशाख, काठमाडौं । ६ वटा मधेसी दल एकीकरण गरेर दलको नाम राष्ट्रिय राखे पनि सो दलले देशैभर उम्मेदवारी नदिने भएको छ । आफ्नो वर्चश्व रहेको प्रदेशबाहेकका लागि वैशाख ३१ मा हुने निर्वाचनको उम्मेदवार मनोनयनमा राष्ट्रिय जनता पार्टी सहभागी नहुने भएको हो । पहिलो चरणको चुनावका लागि आफूहरुको तयारी नरहेको प्रतिक्रिया सोत दलका नेताहरुले दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले भने मंगलबार हुने उम्मेदवार मनोनयनमा सहभागी भएर उम्मेदवारी दिने भएको छ । उपेन्द्र यादवसँग एकतामा आएका अशोक राई र चुनावी तालमेल गर्ने सहमति गरेका बाबुराम भट्टराईको पकड भएका पहाडी क्षेत्रमा संघीय समाजवादी फोरमले उम्मेदवारी दिने बुझिएको छ ।
संघीय फोरमले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग चुनावी तालमेलको सहमति गरिसकेको छ र दुबै पार्टीले साझा चुनाव चिन्ह ‘मसाल’बाट लड्दैछन् ।
वैशाख ३१ गते हुने स्थानीय तह चुनावका लागि भोलि मंगलबार विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । प्रदेश नं. ३, ४ र ६ मा वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुँदै छ ।












