७ फागुन, काठमाडौं । सरकारले फागुन ८ गते आइतबार स्थानीय निकायको निर्वाचन घोषणा गर्ने भएको छ । यसअघिदेखि नै फागुन ८ गते निर्वाचन घोषणा गर्ने तयारी गरेको सरकारले छिमेकी मुलुक भारतको समर्थन लिइसकपछि मधेसी मोर्चाको असहमतिमै निर्वाचन घोषणा गर्न लागेको हो । निर्वाचन नभए नेपाल र मधेसमा झन अस्थिरता उत्पन्न हुने कुराप्रति भारत समेत भएपछि स्थानीय निर्वाचन घोषणा हुने भएको हो ।
शनिबार भएको सरकार मधेसी मोर्चा बैठकमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निर्वाचन घोषणा गर्ने कुरा स्पष्ट रुपमा बताएका थिए । बैठकमा सहभागी रामसपा दलका महासचिव केशव झाले नेपालदेशडटकमलाई भने प्रधानमन्त्रीले आइतबार विहान निर्वाचन घोषणा गर्ने कुरा स्पष्ट रुपमा भन्नुभएको छ र हामीले पनि निर्वाचनसँग आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छौं । उनले थपे शनिबार रातभरमा कुनै चमत्कार नभएमा आइतबार सरकारले निर्वाचन घोषणा गर्ने निश्चित छ ।
निर्वाचन घोषणापूर्व भारतको समर्थन लिन र भारत सरकारको मनसाय बुझ्नका लागि प्रधानमन्त्री प्रचण्डले आफ्नो दलका नेता नारायणकाजी श्रेष्ठलाई भारत पठाएका थिए । नारायणकाजीले भारत सरकारका प्रतिनिधिसँग नभेटेको कुरा नेपाल फर्केपछि बताएका छन् । तर भाजपाका निर्णायक नेतासँगको श्रेष्ठको भेटले निर्वाचनका लागि हरियो संकेत दिएको स्रोत बताउँछ ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेको कार्यकाल सकिएका कारण पनि वर्तमान सरकारलाई भाजपा सरकारले हरियो संकेत दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा वदनाम गराउने गरी कांग्रेस आई समर्थक रेले नकारात्मक भूमिका खेलेको र अब पठाउने राजदूतले सम्बन्ध सुधार गर्ने विषयमा मोदीका दूतले सन्देश दिएको अति गोप्य जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार निर्वाचन घोषणाको सम्पूर्ण तयारी गरे पनि सत्तारुढ सहयात्री कांग्रेसप्रति केही उनी केही सशंकित देखिएका छन् । प्रहरी प्रमुख नियुक्तिको प्रकरणले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग केही सशंकित देखिएकोले प्रचण्ड तनावमा रहेको विशेष स्रोत बताउँछ । देउवाको प्रिय पात्र जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गर्न नचाहेका प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले नै डिआइजी नवराज सिलवाललाई अदालतमा रिट दायर गर्न पठाएको बुझाइ देउवाको रहेको देउवा निकट कांग्रेस नेता बताउँछन् ।
यही दाऊमा कतै देउवाले युद्धकालको रिसिबी साँधेर आफूलाई साथ नदिई अक्षम बनाउन प्रयत्न गर्ने हुन् कि भन्ने शंकामा प्रचण्ड देखिएका छन् । निर्वाचन गराउन नसकेर तत्कालीन राजा ज्ञानेन्द्रबाट अक्षम घोषित देउवाले प्रचण्डलाई अक्षम बनाउने दाऊ रच्ने हुन् कि भन्ने आशंका माओवादी नेतृत्वमा देखिएको छ ।
देउवाले यस्तो गद्दारी गरे पनि एमालेले निर्वाचन चाहेकोले एमालेसँग राजनीतिक एजेण्डा मिल्न सक्ने भनी प्रचण्डले ठूलो खतरा मोलेरै आइतबार निर्वाचन घोषणा गर्ने सम्पूर्ण तयारी गरेका छन् ।












