७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवशेनबाट राजसंस्थासहितको लोकतन्त्र भन्ने आधारभू्त सिद्धान्तलाई पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवदेनलाई महाधिवेशनले पारित गरेको हो । शनिबारको बन्दसत्रमा थापाको प्रतिवेदन कुनै परिमार्जनविना सर्वसम्मतरुपमा पारित भएको जानकारी बन्दसत्रमा सहभागी नेता डम्बर शिवाकोटीले नेपालदेशडटकमलाई दिए । त्यसैगरी पार्टीको विधान समेत सर्वसम्मत रुपमा पारित भएको उनले बताए ।
यसअघि छलफलमा महाधिवेशन प्रतिनिधिले आफ्ना धारणाहरु राखेका थिए ।
अब राप्रपाको नयाँ नेतृत्वको चयनका लागि शुक्रबारबाट प्रक्रिया सुरु हुने भएको छ । आइतबार बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता हुने र र सोमबार मतदान गर्ने कार्यक्रम महाधिवेशनको रहेको छ ।
अध्यक्ष पदका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीबिच प्रतिश्पर्धा हुने भएको छ । थापापक्षधर प्रतिनिधिहरुको सङ्ख्या बढी रहेका कारण लोहनी पक्षधरहरुले समेत थापाको पक्षमा रहेको भन्दै शुक्रबारदेखि नै भोट मागेका थिए । तर विताशर्त थापालाई नेतृत्व छाड्दा पुरानो राप्रपाको अस्तित्व नरहने र थापाको मात्रै बोलवाला हुने भएको भन्दै नेता तथा कार्यकर्ताले विरोध गरेपछि लोहनी पनि अध्यक्षको उम्मेदवारका रुपमा अघि सरेका हुन् ।
राप्रपाभित्र अझै पनि चुनाव चिन्ह गाई वा हलो भन्ने विषयमा विवाद यथावत रहेको छ । लोहनीले चुनाव चिन्ह हलो हुनुपर्ने र पचास प्रतिशत पदाधिकारीको चयन महाधिवेशनबाटै हुनुपर्ने अडान राख्दै आएका छन् ।












