६ फागुन, काठमाडौं । एकताको महाधिवेशन भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवशेन सुरु भएको दिन शुक्रबारदेखि नेताहरुबीच मतभेद चर्किएको छ । नेपाली राजनीतिकै चतुर खेलाडी मानिने वर्तमान अध्यक्ष कमल थापाले सर्वसम्मत रुपमा आफूलाई अध्यक्ष बनाउन गरेको प्रयास समेत शुक्रबार नै विफल भएको छ । पछिल्लो समय साथ दिएका पशुपति शमशेरले समेत चुनाव चिन्हप्रति आपत्ति जनाएका छन् ।
पार्टी एकीकरणका समयमा गरिएको सहमतिअनुसार राप्रपाको चुनाव चिन्ह हलो हुनुपर्नेमा त्यसो नगरिएको भन्दै राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफू पनि अध्यक्ष पदका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन् । लोहनीले विहीबार साँझ नै यस्तो घोषणा गरे पनि विहीबार एक कार्यक्रम गरेर नै चुनाव चिन्ह र केन्द्रीय पदाधिकारीको चयनप्रति आपत्ति जनाएका हुन् ।
महाधिवेशनको उद्घाटन सत्रमै बोलेका नेता पशुपति शमशेरले राप्रपाको चुनाव चिन्ह हलो नै बनाउनुपर्ने जिकिर गरे ।
राप्रपाबाट एकीकरणमा आएका नेता तथा कार्यकर्ताहरुले पुरानो राप्रपाको अस्तित्व समाप्त पार्न खोजिएको भन्दै आपत्ति जनाए पछि नेताहरुले पनि यसमा जोड दिएका हुन् । पार्टी एकीकरण नभई विलय गराउन खोजिएको भन्दै राप्रपाबाट आएका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् ।
महाधिवेशनमा अध्यक्ष कमल थापा पक्षको हावी रहेको भन्दै अधिकांश कार्यकर्ताहरु रुष्ट देखिएका छन् । यो अवस्थाले एकताका लागि भएको राप्रपाको महाधिवशेन कतै अर्को विभाजनको महाधिवेशन बन्ने त होइन भन्ने आशंका देखिएको छ ।
यस्तो देखिनुमा कमल थापाको दोधारे प्रवृत्ति भएको पनि नेता तथा कार्यकर्ता बताउँछन् । आफूलाई राजावादी भन्ने, पार्टीको आधारभूत सिद्धान्त राजासहितको प्रजातन्त्र भन्ने कमल थापाले राष्ट्रपतिको सुरक्षा सल्लाहकारमा आफ्नै भाइ नियुक्त गर्नुले उनीप्रति राजतन्त्रवादी नेता कार्यकर्ताहरु आशंकित देखिएका छन् ।
अर्कोतर्फ महाधिवेशनमा राप्रपा नेपालबाट एकीकरणमा आएका जनप्रतिनिधिको बाहुल्यता रहेकोले पनि राप्रपाबाट आएका नेता कार्यकर्ताहरु बढी असुरक्षित महसुस गरेका छन् । निर्वाचनबाट कमल थापा पक्षधर केन्द्रीय सदस्यको सङ्ख्या बढी आउने र त्यसमा पनि मनोनित केन्द्रीय सदस्य थापा स्वयम्ले एकलौटी ढंगले गर्न सक्ने भन्दै नेता तथा कार्यकर्ता चिन्तित देखिएका हुन् । कमल थापाको व्यक्तिवादी प्रवृत्तिका कारण एकीकरणमा आएका नेता कार्यकर्ताहरु निराश भएको देखिएको छ ।
यो अवस्थाले एकताका लागि गरिएको महाधिवेशनले फेरि अर्को विभाजन ल्याउने खतरा देखा परेको छ । त्यसो त कमल थापाकै दलमा रहेका केशरबहादुर विष्टलगायतका नेताहरुले छुट्टै मोर्चा बनाएर राजनीतिक संगठन विस्तारको कार्य गरिरहेका छन् ।













