५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पोलिट्व्युरो बैठकमा छलफल सुरु भएको छ । ओलीले वुधबार पेश गरेको प्रतिवदेनमाथि सदस्यहरुले धारणा राख्ने क्रम आजबाट सुरु भएको हो ।
अध्यक्ष ओलीले आफ्नो दश पृष्ठ लामो प्रतिवदेनमा भारतीय नीतिको विरोध गरेका छन् । भारतले पाकिस्तानलाई घेराबन्दी गर्ने नीति लिएको र दक्षिण एसियामा नै भारतले आफ्नो प्रभाव बढाउन खोजेको आरोप लगाएका छन् । ओलीले सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै प्रतिवेदनमा त्यसको विरोध गरेका छन् ।
भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको प्रतिवदेनमा उल्लेख छ ।
पाकिस्तानलाई अलग थलग पार्ने उद्देश्यमा भारतले अन्य छिमेकीहरुलाई पनि गोलबन्द गर्ने प्रयास गरिरहेको ओलीले दस्ताबेजमा उल्लेख गरेका छन् ।
तर भारतको यस्तो उद्देश्यलाई नेपालले पूरा हुन नदिने ओलीको भनाइ छ । ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी देशहरुसँग सम्बन्ध राखेको ओलीले दस्तावेजमा लेखेका छन् ।
त्यसैगरी नेपालमा चिनियाँ प्रभाव बढेको भनेर भारतले कथा रचेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।












