४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब १ करोड ५० लाखभन्दा बढी खर्च गर्ने तयारी गरेको छ ।
पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्च गर्न लागिएको राप्रपाले जानकारी दिएको छ ।
महाधिवशेनमा खर्च गरिने उक्त रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । पार्टीले यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनमा यसपटक सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने समेत दावी गर्दै आएको छ ।
सहरको सौन्दर्य कायम राख्न भित्तेलेखन र पोस्टर टाँस्ने काम नगर्ने र सामाजिक सञ्जालको तथा युट्युब प्रयोग गर्ने तथा पर्चा पम्लेट वितरण गर्ने राप्रपाले जनाएको छ ।
महाधिवेशनका गतिविधिका बारेमा सूचना कक्ष स्थापना गरिने र उद्घाटन सत्र विभिन्न सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रशारण गर्ने सो पार्टीले जनाएको छ ।
महाधिवेशन मूल आयोजक समितिअन्तर्गत प्रचारप्रसार विभागका संयोजक एवम् महामन्त्री राजेन्द्र लिङ्देनले महाधिवेशनका लागि तयारी कार्य तथा मञ्च व्यवस्थापनका कार्य सुरु भइरहेको जानकारी दिए । महाधिवेशनमा हुने चुनावका लागि विद्युतीय मतदान यन्त्र प्रयोग गरिने समेत उनले बताए ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका राजनीतिज्ञ तथा राजनीतिक दलका प्रतिनिधिका साथै नेपालस्थित कुटनीतिक प्रतिनिधिले सहभागिता जनाउने जानकारी प्रवक्ता राजाराम श्रेष्ठले दिए । उदघाटन सत्रमा करिब एक लाख मानिसको सहभागिता हुने आँकलन राप्रपाको रहेको छ ।












