४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने खुलासा गरेका छन् । पाँचथर पुगेका प्रचण्डले प्रमुख तीन दलबीच दलबीच वैशाखमा निर्वाचन गर्ने अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्र निर्वाचन हुने दावी उनले गरेका हुन् ।
पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को वुधबार उद्घाटन गर्दै प्रचण्डले भने “मङ्गलबार बेलुका र आज वुधबार बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।”
जलुविद्युतको विकासमा जोड दिंदै प्रचण्डले अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व सभामुख सुवास नेम्बाङ, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, उद्योग वाणिज्य हकहित समृद्ध समिति सभापति भीष्मराज आङ्देम्बेले पनि बोलका थिए ।












