४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच भएको बैठकले स्ववियु निर्वाचनलाई सम्पूर्ण सुरक्षा दिने निर्णय भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन कुनै पनि हालतमा स्थगित गर्न नहुने निर्णय गर्दै आवश्यक सम्पूर्ण सुरक्षाको व्यवस्था सरकारले मिलाउने सहमति भएको हो । निर्वाचन गराउन नसक्ने भन्ने क्याम्पस प्रमुखहरुसँग छलफल गरी सरकारले सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले गर्नुभएको छ । बैठकले सुरक्षाको कुनै चिन्ता नलिई निर्वाचन कार्यक्रमलाई अघि बढाउन सम्बन्धित क्याम्पसहरुलाई निर्देशन दिइएको बैठकमा सहभागी एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिए ।
त्रिविकी रेक्टर सुधा त्रिपाठी चढेको गाडीमा आगजनी गर्नेदेखि क्याम्पसका निर्वाचन समितिका व्यक्तिहरुलाई अपहरण गर्ने लगायतका कार्य हुन थालेपछि त्रिवि प्रशासनले सुरक्षाका लागि आग्रह गरेको हो । बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले निर्वाचन केही पर सार्न आग्रह गरे पनि एमाले अध्यक्ष केपी आलीले त्यसको चर्को विरोध गरेका थिए । तर ओलीकै दलका विद्यार्थी इच्चार्ज रविन्द्र अधिकारीले भने निर्वाचन सार्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रर्याप्त सुरक्षा प्रदान गर्ने बताउँदै निर्वाचन नसार्ने अडान लिएका थिए ।
प्रमुख तीन दलका शीर्ष नेता र सरकारको यो निर्णयपछि सुरक्षा व्यवस्थाका लागि काठमाडौंका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सबै क्याम्पसका क्याम्पस प्रमुख र त्रिवि पदाधिकारीहरुको संयुक्त बैठक गृहमन्त्रालयमा वुधबार नै गरिएको छ ।












