३ फागुन, काठमाडौं । गणतन्त्र स्थापनाका लागि जसरी हजारौं नेपालीले ज्यान गुमाएजस्तै राजतन्त्रका लागि पनि ज्यानको वाजी लगाउनेहरुको कमी छैन । राजतन्त्र र हिन्दू राष्ट्रका लागि लडिरहेकाहरुको कुम्भ मेला फागुन ६ देखि राजधानीमा आयोजना हुँदैछ । सन्दर्भ हो राप्रपाको एकता महाधिवेशन ।
गणतन्त्र र राजतन्त्रमा विभाजित राप्रपाले अन्ततः आफ्नो वैचारिक आधार राजसंस्थासहितको प्रजातन्त्रलाई बनाएको छ । राजसंस्थासहितको प्रजातन्त्र र सर्वधर्म समभावसहितको हिन्दू राष्ट्र राप्रपाको आसन्न महाधिवेशनका प्रमुख एजेण्डा हुन् ।
राप्रपाभित्र यी एजेण्डा स्थापित गराउनका लागि ज्यानको वाजी लगाउनेहरु भने औंलामा गन्न सकिने मात्रै छन् । तीमध्येका एक व्यक्ति हुन् डम्बरप्रसाद शिवाकोटी ।
२०६३ सालको कुरा हो । जतिवेला युद्धबाट आएका माओवादी कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा राखिएका पूर्वराजाका सालिक फोडेर टाउकोको फुटबल खेलिरहेका थिए त्यति नै वेला राजावादीहरु पनि आफ्ना एजेण्डा कायम राख्न संघर्षरत थिए । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनिसकेका थिए र राजतन्त्र कायम राख्न भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोइराला नेतृत्वको सरकारलाई दवाव दिइरहेका थिए ।
यस्तै दवावसहितको जुलुश लिएर कमल थापा प्रधानमन्त्री निवास वालुवाटारमा घेराऊ गर्न पुगे । जुलुशसहित गएका उनले प्रधानमन्त्री कोइरालालाई राजतन्त्र कायम राख्ने लगायतका मागपत्रहरु पेश गरे । थापाको नेतृत्वमा गएको करिब ३ सयजनाको जुलुश सुरक्षा घेरा तोड्दै प्रधानमन्त्री निवासको गेटतिर बढ्दै थियो । यही जुलुशको अग्रपंक्तिमा थिए डम्बर शिवाकोटी । प्रहरीको लाठी चार्ज त छँदै थियो त्यसमाथि माओवादी कार्यकर्ताले समेत जुलुशमाथि आक्रमण गर्न थाले । त्यससमयमा कमल थापाको कार्यक्रममाथि माओवादी कार्यकर्ताले निरन्तर हस्तक्षेप गर्दै आएका थिए ।
जुलुशमा रहेका डम्बर सिवाकोटीको टाउकोमा धारिलो हतियारले प्रहार भयो । शिवाकोटी भन्छन्- ‘तीनवटा धार भएको हतियार रहेछ । त्यही हतियारले सिधै मेरो टाउकोमा प्रहार गरियो । मेरो होस रहेन । मेरो टाउकोमा बाह्र टाँका लगाएपछि म घर फर्किएँ ।’
शिवाकोटी थप्छन् – ‘जुलुशमा चर्का नारा लगाउने भएका कारण मलाई पहिलेदेखि निशाना बनाइएको रहेछ । हाम्रा नेताहरुलाई पहिलेदेखि नै सुरक्षा थ्रेट समेत थियो हामीले त्यसको पनि विरोध गरेका थियौं ।’
गणतन्त्रको पक्षमा रहेका पशुपति शमशेरलगायतका नेताहरु पनि राजतन्त्रको एजेण्डामा आएका कारण कमल थापाको एजेण्डा एकीकृत राप्रपामा स्थापित भएकोले अवको नेतृत्व पनि थापाकै हुनुपर्ने दावी शिवाकोटीको छ । भारतीय हस्तक्षेपविरुद्ध उभिएको र भारतीय एकाधिकारको अन्त्य गरेर चीनसँग पारवहन सम्झौता गर्न भूमिका खेल्ने व्यक्ति भएका कारण पनि कमल थापालाई पार्टीको नेतृत्व दिनुपर्ने उनको दावी छ ।
अबको वैकल्पिक शक्ति राप्रपालाई बनाउन सर्वधर्म समभावसहितको धर्मसापेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको वहुदलीय प्रजातन्त्र, विकेन्द्रिकरण र खुल्ला अर्थनीति राप्रपाले अवलम्बन गर्नुपर्ने ठहर शिवाकोटीको छ ।
राप्रपाभित्र यही एजेण्डा स्थापित गराउनका लागि आफूले समेत पार्टीको केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिने सोच बनाएका छन् डम्बरप्रसाद शिवाकोटीले । उनी भन्छन्- ‘ज्यान नै जोखिममा राखेर कमल थापासँग राजतन्त्रको एजेण्डामा हिँडियो । आज त्यो एजेण्डा पार्टीमा स्थापित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नयाँ उचाइमा पुर्याउन नेतृत्वलाई निरन्तर साथ दिने मेरो प्रण यथावत छ । त्यसैले केन्द्रीय सदस्य पदका लागि मेरो उम्मेदवारी हो ।’












