२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठी चढेको गाडीमा जलाउने काम नेविसंघले गरेको खुलासा भएको छ । नेविसंघका नेता मनोज वैद्यको योजना र सुराकीमा विप्लव माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले त्रिपाठी चढेको गाडी जलाइएको गोप्य जानकारी नेपालदेशडटकमलाई प्राप्त भएको छ । उमेरले चालीस वर्ष नाघेका नेविसंघका नेतालाई स्ववियु निर्वाचनमा उम्मेदवार बन्न नदिने निर्णय गराउने काम त्रिपाठीले गरेको भन्दै नेविसंघले योजनाबद्ध रुपमा आक्रमण गरेको जानकारी प्राप्त भएको छ ।
शिक्षाध्यक्ष त्रिपाठी चावहिलनजिकै बस्ने र नेविसंघका नेता मनोज वैद्य पनि चावहिलमै बस्ने भएकोले उनेले त्रिपाठीमाथि निरन्तर निगरानी गर्दै आएका थिए । बारम्बार धम्की आउने गरेकोले आफूले बाटो बदल्दै यात्रा गर्ने गरेको बताइन् । तर सोमबार भएको आगजनीमा मनोज वैद्यले सुराकी गर्दै युएन पार्कनजिकै पुगेको वेलामा आगजनी गर्नका लगाएको गोप्य सूचना प्राप्त भएको छ । ललितपुरको ज्वागलमा त्रिपाठी चढेको बा २ च ५६३० नम्वरको गाडीमा सोमबार विहान आगो लगाइएको थियो । शिक्षाध्यक्ष त्रिपाठी घरबाट कार्यालय जाँदै गर्दा उनलाई पाखुरामा समातेर बाहिर निकाली दुई व्यक्तिले आगो लगाएका थिए । आगजनीको जिम्मा अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले लिएका छन् ।
शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठी माओवादी कोटामा नियुक्त भएकी हुन् । तर सत्तासाझेदार दल कांग्रेसकै विद्यार्थीहरुले आगजनी गर्दा समस्या आउने भएकोले नेविसंघले विप्लव माओवादीका विद्यार्थीलाई अगाडि सारेर आगजनी गरेको गोप्य स्रोतले बतायो । घटना स्ववियु निर्वाचसँग सम्बन्धित भए पनि यथार्थमा शेरबहादुर देउवाले विप्लवको काँधमा बन्दुक राखेर प्रचण्डमाथि आक्रमण गरेको प्रष्ट हुन्छ ।












