२ फागुन, काठमाडौं । पछिल्लो समयमा वामपन्थी पत्रकारहरुले संयुक्त रुपमा पत्रकार महासंघको प्यानल बनाउन थालेपछि निरन्तर पराजित हुँदै आएका कांग्रेस निकट पत्रकारहरुले आगामी महाधिवेशनलाई प्रभावित पार्नका लागि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सोमबार तालाबन्दी गरेको हो ।
सोमबार युनियनमा आवद्ध पत्रकारहरुको टोलीले सञ्चारग्राम तिलगंगामा रहेको कार्यालयमा तालाबन्दी गरे । यसअघि पनि सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै युनियनका विभिन्न शाखाहरुले महासंघको जिल्ला शाखामा तालाबन्दी गर्दै आएको थियो । युनियनले सदस्यता वितरणको क्रममा महासंघले गैरनेपालीदेखि गैरपत्रकारसम्मलाई सदस्यता दिएको, महासंघको विधि र प्रक्रियालाई लत्याउँदै कुनै दल विशेषका कार्यकर्ताहरुलाई समेत सदस्यता वितरण गरेको लगायतका आरोप लगाएको छ ।
महासंघको ४० जिल्लामा गरिएको नयाँ सदस्यता वितरण र नवीकरणमा समेत युनियनको असहमति रहेको प्रेस युनियनका अध्यक्ष वद्री सिग्देलले बताए ।
केन्द्रबाट नै महासंघको विधान विपरितका ३ हजार भन्दा बढी पत्रकारहरुलाई महासंघको सदस्यता दिइएको युनियनको आरोप छ । महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत लत्याएर महासंघले अन्य पेशामा आवद्ध रहेकाहरुलाई समेत सदस्यता दिएको आरोप युनियनले लगाएको छ । एमाले निकट महासंघ अध्यक्ष विष्टले सदस्यता वितरणमा अनियमितता गरेको आरोप युनियको छ ।
पत्रकार महासंघको सदस्य कुनै दलको सदस्य हुन नहुने विधान भए पनि महासंघ नेतृत्वको चयन सधैं राजनीतिक भागवण्डाका आधारमा हुने गरेको छ ।












