२७ माघ, सिन्धुली । सात वर्षकी कन्यालाई सत्तरी वर्षको वृद्धसँग विवाह गरिएको स्वस्थानी कथाको व्रत चलिरहेका वेला सिन्धुलीमा पनि यस्तै किसिमको अनमेल तथा बालविवाह गर्न जन्ती लिएर गएकाहरु रित्तै फर्कनुपरेको छ ।
बेलघारी– २ चिसापानीकी १२ वर्षीया बालिका र रानीचुरी–२ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेको विवाह स्थानीय किशोरी क्लबले रोकेपछि बेहुलासहित जन्ती बेहुली नलिई रित्तै हात फर्किका हुन् ।
बेलघारीकै चन्द्रावती माध्यमिक विद्यालयलका कक्षा ६ मा अध्ययनरत बालिकालाई मावलीले जबर्जस्ती विवाह गर्दिन लागेको थाहा पाएपछि स्थानीय नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँ पुगेर विवाह रोकेका हुन् ।
बालिकाको विवाहका लागि उनका मावली पक्ष पूर्ण तयारीका साथ बसेका थिए । यता बेहुला २२ वर्षीय कनक कार्की बालिकाको घरमा जन्तीसहित पुगेपछि नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीसहितको समूहले त्यहाँ पुगेर विवाह रोकिदिएको क्लवकी सदस्य सविता बरालले जानकारी दिइन् ।
जन्तीसहित बालविवाह गर्न गएका बेहुला कार्कीलाई नगरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँबाट लखेटेका थिए भने बालिकालाई विवाहका बारेमा कुनै थाहासमेत नभएको स्थानीयको भनाइ छ ।
बालिकाका मावली परिवारका सदस्यलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि उनीहरु विवाह रोकिएको किशोरी समूह बेलघारीकी सदस्य सविता बरालले बताइन् ।
धनुषा स्थायी घर भएकी बालिका मावलीका हजुरबुबा हजुरआमासँग अध्ययनको सिलसिलामा बस्दै आएकी थिइन् । सिन्धुली बालविवाहको उच्च जोखिम रहेको भन्दै विभिन्न सङ्घसंस्थाले जनचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बालविवाह अझै रोक्न सकिएको छैन । बालविवाहका अधिकांश घटनामा मिलापत्र गराएर छाड्ने प्रचलन रहेको छ ।














