२६ माघ, काठमाडौँ । काठमाडौंमा मेट्रो रेल संचालन गर्नुपर्ने अवधारणा अगाडि आइरहेका वेला महानगरपालिकाले भने सानो आकारको आकाशे रेल संचालन गर्ने भएको हो । दुई वर्षभित्रमा यो रेल संचालन गर्ने योजनासहित महानगरपालिकाले एक कम्पनीसँग आज सम्झौता समेत गरेको छ ।
दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको हो ।
काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताए ।
कम्पनीले तीन महिनाभित्रै काठमाडौँको कुनै १० किमीको रुटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले जानकारी गराए।
अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए ।
आकासमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर पनि गर्ने छैन् ।












