२६ माघ, वासिंटन । अमेरिकाको राष्ट्रपति पदबाट अवकाश पाएपछि बाराक ओबामा यतिवेला रमाइलो गरेर आनन्द लिनतिर व्यस्त रहेका छन् । ८ वर्षसम्म निरन्तर राष्ट्रपतिको जिम्मेवारीले व्यस्त रहेका ओबामा आफ्ना पुराना साथीहरुसँग खेल्ने र टापुहरु घुम्ने कार्यममा व्यस्त देखिन्छन् । ओबामा आफ्ना पुराना साथीहरुसँग निकै खुलेर खेलेका तस्वीहरु सार्वजनिक भएका छन् ।
भर्खरै उनी साताव्यापी घुमफिर सकेर वासिंटन फर्किएका हुन् ।

ओबामाका अर्बपति मित्र रिचर्ड ब्रेनसनका साथ ओबामाले भर्जिन आइल्याण्डमा केही समय बिताएका थिए । ब्रेनसनकै नीजि द्वीपमा ओबामा र ब्रेनसनले रमाइलो गरेका तस्वीर प्रकाशमा आएको हो ।
ब्रेनसन र ओबामाले ‘वाटर स्पोर्ट’को मजा लिए । दुवैबीच केही ठट्टा र रमाइलो पनि भयो । वाटर सर्फिङमा दुबैबीच प्रतिश्पर्धा पनि भयो । बाजी ओबामाले मारे । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको ८ वर्षसम्म आफूले यति खुलेर रमाइलो गर्न नपाएको ओबामाको भनाइ थियो ।
ब्रेनसनले ओबामासँगका अनुभव र तस्वीर सार्वजनिक गरेका हुन् । उनले भने, ‘राष्ट्रपति बन्नुअघि ओबामा मोस्किटो आइल्याण्ड गएका थिए, त्यहाँ उनले सर्फिङ गरेका थिए । उनका सुरक्षा टिमका प्रमुखले राष्ट्रपति पदमा रहुन्जेल ओबामाबाट यस्तो काम अब हुनेछैन भनेका थिए ।’
संयोगवस ओबामाको कार्यकाल सकिएलगत्तै आफूले ओबामालाई स्वागत गर्न पाएको र बिदाको सदुपयोगमा साथ दिन पाएकोमा ब्रेनसनले आफूलाई भाग्यमानी ठानेका छन् ।
दुवै एउटै मोटरबोटमा सवार भएर केहीबेर ख्यालठट्टा गरेका थिए। यसैक्रममा ब्रेनसनले ओबामाको घाँटी दुवै हातले च्यापेको र प्रतिकारमा ओबामाले मुक्का उठाएको तस्वीर समेत सार्वजनिक भएको छ । एजेन्सी













