१९ माघ, काठमाडौं । राजतन्त्र रहँदासम्म देशका प्रमुख धार्मिक उत्सवहरुमा नेतृत्व गर्ने जिम्मा राजालाई नै थियो । गणतन्त्र आएपछि यो जिम्मा राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिमा सरेको छ । रमाइलो कुरा त के छ भने कम्युनिस्ट पृष्ठभूमि रहेकी नारी अहिले राष्ट्रप्रमुख छिन् । प्रमुख धार्मिक कार्यक्रममा कम्युनिस्ट पृष्ठभूमिकी व्यक्ति सहभागी हुनु जति अनौठो बनेको छ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा नारीका रुपमा धार्मिक उत्सवको नेतृत्व गर्नुलाई मान्न सकिन्छ ।
वुधबार त्यस्तै भयो । धर्मलाई अफिम मान्ने कम्युनिस्ट सिद्धान्त बोकेका तीन व्यक्तिहरु विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल प्रचण्ड र नन्दबहादुर पुन राजाले चलाएको चलनअनुसारको वसन्त श्रवण समारोहमा वुधबार सहभागी भए ।
वसन्तपुर दरबार परिसरमा आयोजित वसन्त श्रवण समारोहमा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले आफ्ना आलोचकहरुलाई जवाफ समेत दिएका छन् । प्रधानमन्त्रीले दसैँमा टीका नलगाएको भनेर आलोचना गर्नेहरुलाई वसन्त श्रवण समारोहको टीका तथा प्रसाद ग्रहण गरेर प्रचण्डले आलोचकहरुलाई जवाफ दिएका हुन् । कम्युनिस्ट सिद्धान्त बोकेर हिँडेको व्यक्ति भएको र देशमा धर्मनिरपेक्ष बनाउने नेतृत्व गरेका प्रचण्डले आफ्नो स्वेच्छाले टीका नलगाउँदा आलोचना खेप्नुपरेको थियो । प्रचण्डले क्रिश्चियन धर्मको प्रचारका लागि रकम खाएर धर्मनिरपेक्षता ल्याएको, उनकी पत्नी सीता क्रिश्चियन भएको लगायतका आरोप सामाजिक संजालमार्फत लगाएको पाइन्छ । तर वुधबारको प्रचण्डले परम्परागत धार्मिक पर्व र उत्सवमा सहभागी भई टीका र प्रसाद ग्रहण गरेर परम्परा र धर्मप्रतिको नेपालीहरुको आस्थालाई सम्मान गरेका छन् ।
देशमा राजनीतिक परिवर्तन मात्र भएको छैन चाडपर्व मनाउने परम्परामा पनि परिवर्तन आएको छ । सरकारी तहबाट मनाइने धार्मिक उत्सवहरुमा पनि समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । यस्तै आवश्यकताअनुरुप वुधबार वसन्त श्रवण गरेर केही पनि नबुझेपछि गृहमन्त्री विमलेन्द्र निधिले नेपालीमा पनि वसन्त श्रवणका श्लोकको अर्थ लगाउन निर्देशन दिएका छन् ।
वसन्त श्रवण गरेपछि समारोहपछि गृहमन्त्रीले आगामी दिनमा वसन्त श्रवणको महिमाबारे नेपाली भाषामा बुझिने गरी प्रस्ततु गर्ने व्यवस्था मिलाउन मूल पुरोहितलाई सुझाव दिएका थिए ।












