१८ माघ, काठमाडौं । काठमाडौं र भक्तपुरको सिमानदी मनोहराको किनारमा रहेका ८ सय घरपरिवारलाई उठाउने तयारी भएपछि सुकुम्बासीहरुले यसको विरोध गर्दै प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् । आफ्ना मागहरुको सुनुवाइ नगरे निर्वाचनमा कुनै पनि दललाई समर्थन नगर्ने र सुकुम्बासीकै नाममा नयाँ दल खोल्ने चेतावनी उनीहरुले दिएका छन् । वुधबार कांग्रेस मुख्यालय सानेपामा विरोध प्रदर्शन गर्दै उनीहरुले निर्वाचन जित्न मात्रै दलहरुले सुकुम्बासीलाई उपयोग गर्ने गरेको तर उनीहरुका समस्यामा कहिल्यै ध्यान नदिएको चेतावनी दिए ।
जुलुशसहित कांग्रेस पार्टी कार्यालय पुगेका सुकुम्बासीहरुले कांग्रेस नेतृत्वलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।
मनोहरा जग्गा एकीकरण आयोजनाको नाममा सुकुम्बासीलाई उठिबास गराउने काम तत्काल बन्द गर्नुपर्ने, हाल बसिरहेकै जग्गाको भूस्वामित्वसहित लालपूर्जा वितरण गर्नुपर्ने, वस्तीमा खानेपानी, बाटोघाटो र ढलको व्यवस्था हुनुपर्ने र संविधानले दिएका मौलिक हकको ग्यारेन्टी गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । त्यस्तै सुकुम्बासीहरुकै नेतृत्वमा उच्चस्तरीय सुकुम्बासी समस्या समाधान तथा कार्यान्वयन आयोग गठन गर्नुपर्ने मागसमेत आफूहरुको रहेको टोल सुधार समितिकी अध्यक्ष गोमा आचार्यले जानकारी दिइन् ।
ज्ञापनपत्र बुझ्दै कांग्रेस कोषाध्यक्ष तथा शान्तिमन्त्री सीतादेवी यादवले सुकुम्बासीका समस्या मन्त्रीपरिषद्सम्म पुर्याउने आश्वासन दिइन् । सुकुम्बासीका समस्याप्रति आफू र आफ्नो दल गम्भीर रहेको भन्दै मन्त्री यादवले सबै जनतालाई संविधानप्रदत्त अधिकारको व्यवस्था गर्न सरकार क्रियाशिल रहेको बताइन् ।
यसअघि मनोहरा वस्तीका सुकुम्बासीहरुले अन्य दुई ठूला दल एमाले र माओवादी केन्द्रसँग समेत आफ्ना माग राखी ज्ञापनपत्र बुझाइसकेका छन् ।
समस्या के हो मनोहरा वस्तीको
मनोहरा खोला भक्तपुरपट्टिको किनारमा २०५९ सालदेखि द्वन्द्वपीडित तथा सुकुम्बासीहरु छाप्रा बनाएर बसोबास गर्न थालेका हुन् । सुरुमा ४ सयजति घरटहरा रहेकामा हाल आठ सयभन्दा बढी पुगिसेका छन् ।
२०२२ सालको नापीअनुसार खोलाको नक्सा अहिलेको सकुम्बासी वस्तीमा रहेको थियो । पछि खोलाले आफ्नो धार परिवर्तन गरी काठमाडौंपट्टिको भाग कटान गरेर बग्न थाल्यो । पहिले खोला बगेको ठाउँ खालि भएपछि सो जमिनमा सुकुम्बासीहरु बसेका हुन् । तर, खोलालाई २०२२ सालपहिलेकै अवस्थामा फर्काएर काठमाडौंपट्टिको जग्गा व्यक्तिका नाउँमा बनाउने चलखेलका कारण अहिले मनोहरा क्षेत्रमा विवाद उत्पन्न भएको हो । सुकुम्बासीहरु पनि आफू बसेको जमिन छाड्न नचाहने र भूमाफियाले राजनीतिक दलका नेतालाई प्रभावमा पारेर खोलो फर्काउने प्रयास गरेपछि त्यस क्षेत्रमा बारम्बार भिडन्त समेत हुँदै आएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाका नाउँमा आफूहरुलाई उठिवास गराउन लागिएको र भूमाफियालाई फाइदा पुर्याउन खोजिएको आरोप सुकुम्बासीहरुले लगाउँदै आएका छन् ।
खोलाले धार परिवर्तन गरेको अवस्थामा २१४ रोपनी जमिन खालि निस्किएकोमा हाल भूमाफियाको कब्जामा पुगेका कारण सरकारसँग १८ रोपनी मात्रै रहेको छ । बाँकी रहेको १८ रोपनी समेत कब्जा गर्ने रणनीतिमा भूमाफियाहरु रहेको टोल सुधार समितिकी अध्यक्ष गोमा आचार्यले बताइन् ।
हाल मनोहरा किनारमा जग्गाको मूल्य प्रतिआना २० लाख रहेको छ । यो जग्गा कब्जा गर्नका लागि विभिन्न समयमा गुण्डाहरु परिचालन हुने गरेको टोलनिवासी दिलिप ठकुरीले बताए । विभिन्न समयमा वस्ती उठाउनका लागि लगिएको डोजर तथा परिचालित गुण्डाहरुलाई टोलवासीले लखेटेको समेत ठकुरीको भनाइ छ ।
खोलालाई पुरानो मार्गमा फर्काएर जग्गा कब्जा गर्ने भूमाफियाको रणनीति एकातिर रहे पनि सरकारले भने क्षेत्रमा करिडोर मार्ग बनाउने योजना अगाडि सारेको छ ।














