१७ माघ, काठमाडौं । राजधानीका काठमाडौंमा यत्रतत्र सडक खनिएका कारण राजधानीवासीले धुलोको पीडा खेपिरहनुपरेको छ । तर अब भने त्यो धुलोलाई भ्याकुम भएको कुचो अर्थात् ब्रुमरले सफा गरी सडकलाई धुलोरहित बनाइने भएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ब्रुमरले सफाइ गर्न निर्देशन दिएपछि यो यन्त्र प्रयोग गरी सडकका खाल्टाखुल्टीको धुलो समेत सफा गर्न लागिएको हो ।
पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए ।
सडक विभागमा उपयोग नगरिएका तीनवटा ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको उपाध्यायले बताए ।
पानी वितरणका लागि उपत्यकामा ७६० किमी पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ ।
दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।
दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताए ।












