१७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा आज सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुबै विषयमा सहमति खोज्ने प्रयास भए पनि कुनै निष्कर्ष निस्किएन । यद्यपि, अबको एक/दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने दुबैतर्फका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भोलि छलफल गरी अर्को निर्णायक बैठक गर्ने बताइएको छ ।
आजको बैठकमा दुबै पक्षको अडानले सहमति जुटेन । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राख्नुभएको थियो । तर मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने सहमति भएको हो ।
संशोधन र निर्वाचनबारे बुधबारसम्म दलीय परामर्श गरी टुङ्गो लगाउने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रिया पनि अघि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजानुपर्ने आवश्यकतामा जोड दिएका थिए।
मोर्चाले संशोधन प्रक्रियालाई टुङ्ग्याएर मात्रै निर्वाचनमा लाग्नुपर्ने धारणा राखेपछि यो विषयमा भोलि या पर्सी तत्कालै छलफल गरी ठोस निष्कर्ष निकाल्न आजको बैठकको निरन्तरतामा अर्को बैठक बस्ने सहमति भएको नेता श्रेष्ठले जानकारी दिए ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संशोधन विधेयक र निर्वाचनबारे वृहत र सकारात्मक छलफल भए पनि विषयवस्तुको टुङ्गो नलागेकाले अर्को बैठक बसी सहमति गर्ने निर्णय भएको बताए।
बैठकमा मोर्चाको तर्फबाट निर्वाचनको मिति अहिले घोषणा गर्ने कि नगर्ने तथा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने या नगर्नेबारे छलफल भएको छ । उक्त विषयमा प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गरी आवश्यक निर्णय लिने धारणा राखेको नेता कर्णले बताए।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले निर्वाचन र संशोधनबारे एमालेसँग पनि छलफल गरी सहमति खोज्ने विषयमा कुराकानी भएको बताए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति थियो ।











