१५ माघ, काठमाडौं । सरकारले बाथ मुटुरोगीको भल्व शल्यक्रिया निः शूल्क गर्ने घोषणा गरेको छ । सहिद गंगालाल हृदय केन्द्रको २१औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा स्वाथ्यमन्त्री गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् । निःशूल्क सेवा आगामी फागुन १ गतेदेखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा रहेको सबै अस्पतालहरुमा लागू हुने छ ।
यो सेवा निःशूल्क गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले सहजै कार्यान्वयन हुने जानकारी मन्त्री थापाले दिए ।
घोषणापछि बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा दिँदै आएका सबै सरकारी अस्पतालहरुमा जुनसुकै नेपालीले निःशुल्क रुपमा यो सेवा पाउने भएका हुन् ।

कार्यक्रममा उनले काम गर्ने उमेरका धेरै युवाहरुमा बाथ मुटुरोग लागी भल्व शल्यक्रिया गर्नुपर्ने भएकाले यस व्यवस्थाले ठूलो जनशक्तिलाई रहत पुग्ने उनले विश्वास व्यक्त गरे ।
मन्त्री थापाले यस वर्ष भित्रमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा काठमाडौं उपत्यका बाहिरका कम्तीमा पनि दुई ठाउँमा विस्तार गरिने बताए। सेवा विस्तारका लागि एउटा टोलीले गृहकार्य तीव्र पारेको जानकारी दिँदै उनले सहयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आह्वान पनि गरे।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद तथा अस्पताल संचालक समितिका सदस्य नरहरि आचार्य लगायतले अस्पतालको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
सो अवसरमा स्वास्थ्य मन्त्री थापाले अस्पताल परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मीक सेवा भवनको सिलन्यास समेत गर्नु भएको थियो । सो भवन झण्डै ४८ करोडको लागतमा तीन बर्षमा बनाउने लक्ष्य राखिएको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिए ।











