१४ माघ, काठमाडौं । आफूलाई उखानटुक्के भन्नेलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नो प्रशंसामा लेखिएको किताब पढ्न आग्रह गरेका छन् । प्रधानमन्त्री भएका वेला हावाबाट विजुली निकालेर लोडसेडिङ हटाउने पाइपबाट ग्यास वितरण गरेर नाकाबन्दीलाई जवाफ दिने र नेपालको आफ्नै पानीजहाज समुद्रमा चलाउने गफ दिएका ओलीले तिनै गफहरुको सँगालो पढ्न उनले आफ्ना विरोधीहरुलाई आग्रह गरेका हुन् । प्रधानमन्त्री हुँदा हावादारी भाषण दिएको भनी आलोचना खेपेका ओलीले तिनै भाषणहरु समेटिएको पुस्तक आज राजधानीमा सार्वजनिक गरेका हुन् । ‘म प्रधानमन्त्री हुँदा शीर्षक’ शीर्षकको पुस्तक ओलीकै पार्टी एमालेको प्रकाशन विभागले प्रकाशित गरेको हो ।
पुस्तक सार्वजनिक समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री भएको बेला आफूले राष्ट्रियता, लोकतन्त्र, समानता, एकता र समृद्धिको कुरालाई जोड दिएको दावी गरे ।
प्रधानमन्त्री भएको बेला आफूले जोड दिएका सपना पूरा गर्न आफू लाग्ने पनि उनले बताए । आफूले गरेका भाषण हावादारी नभएर सपना भएको दावी उनले गरे । आफूलाई उखानटुक्के भन्नेहरुलाई यो किताब पढेपछि धेरै ज्ञान मिल्ने पनि दावी समेत उनले गरे ।












