१३ माघ, काठमाडौं । सरकारले स्थानीय निर्वाचन जेठ १५ गते र १७ गते दुई चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा गर्ने भएको छ । निर्वाचनसम्बन्धि दुई महत्त्वपूण विधेयक व्यवस्थापिका संसदबाट पारित भएपछि सरकारले चुनावको मिति घोषणा गर्न लागेको हो । यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएलगत्तै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको गोप्य सूचना नेपालदेशडटकमलाई प्राप्त भएको छ ।
दोस्रो संविधान सभाको निर्वाचनको मिति भारतीय गुप्तचर संस्थाले पहिले नै निर्धारित गरे झैं यतिवेला पनि भारतीय पक्षले जेठ १५ र १७ गतेको समय निर्धारित गरेको भारतीय स्रोतले नेपालदेशडटकमलाई दिएको छ । भारतीय पक्षको यो निर्णयसँग यतिवेला मधेसी दलका नेताहरु समेत चुनावी मैदानमा खटिएका छन् । मधेसमा आन्दोलन चलिरहेका वेलामा समेत राजधानी नछाडेका नेताहरु यतिवेला आआफ्नो क्षेत्रमा खटिइरहेका छन् ।
मधेसी मोर्चाले निर्वाचनमा अझै पनि सहमति नजनाएको भनिए पनि त्यो केवल वार्गेनिङका लागि रहेको बुझिएको छ । मोर्चाको सोही वार्गेनिङलाई सम्बोधन गर्नकै लागि संविधानको पूरक संशोधन गर्दै राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि स्थानीय निकायका प्रमुख र उपप्रमुखको मताधिकार नराख्ने कसरतमा प्रधानमन्त्री रहेका छन् । तर, यसमा कांग्रेस र एमाले केही सोचमग्न बनेर भावी असरबारे विश्लेषण गरिरहेका छन् ।
जेठ १५ गते पहिलो चरणमा निर्वाचन गर्ने र १७ गते विवादित १४ जिल्लामा निर्वाचन गर्ने गृहकार्य समेत सरकारले गरेको छ । १६ गतेको दिन भने सुरक्षा परिचालन र मतपेटिका संकलन गर्नका लागि खालि राखिने भएको छ । स्थानीय तह पुनर्संरचनामा विवाद देखिएका जिल्लामा १७ गते सुरक्षा संयन्त्र केन्द्रित गरेर निर्वाचन सम्पन्न गर्ने योजना सरकारको रहेको छ ।











