रवि प्याकुरेल/दिलिप थापा मगर
१२ माघ, काठमाडौं । काठमाडौंको चन्द्रगिरि पहाडमा बनेको केबलकार आयोजनाले वातावरणीय प्रभावलाई ध्यान नदिएको भन्ने समाचारहरु प्रकाशित भएपछि २ संसदीय समितिहरुले यसबारे वुधबार अनुगमन गरेका छन् । आयोजनास्थल पुगेर समितिले पूर्वाधार निर्माणका क्रममा वातावरणीय प्रभावलाई ख्याल राख्न चन्द्रागीरि हिल्स लिमिटेडको ध्यानाकर्षण गराएको छ । व्यवस्थापिका संसद अन्तर्गतको वातावरण समिति र सुशासन तथा अनुगमन समितिले संयुक्त रुपमा केबलकारको स्थलगत अनुगमन निरीक्षण गर्दै वातावरणीय प्रभावलाई ख्याल गर्न प्रारम्भिक निर्देशन दिइएको हो ।
समिति सदस्यहरुले अनुगमनका क्रममा केबलकार निर्माणको भौतिक पूर्वाधार र यसले पारेका प्रभावका विषयमा अध्ययन गरेका थिए । त्यस्तै उनीहरुले केबलकार निर्माणबाट वातावरण र स्थानिय समुदायमा परेका असरबारे स्थानियसँग पनि जानकारी लिएका थिए । अनुगमन र सर्वपक्षीय छलफलपछि दुवै समितिले निष्कर्ष निकालेर आवश्यक निर्देशन दिने जानकारी दिएका छन् ।
छलफलमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले वातावरणीय प्रभावलाई ख्याल राख्दै निर्माण कार्यलाई जारी राखेको दावी गरेका थिए । बताउनुभएको थियो । चन्द्रागिरि केवलकार निर्माण गर्दा आवश्यक सबै निकायबाट स्वीकृति लिएको र जनताको हितलाई मध्यनजर गरेको ढकालको भनाइ थियो ।
यसअघि छलफलमा स्थानीय प्रतिनिधिले चन्द्रागिरि केबुलकार निर्माण गर्दा स्थानीय जनतालाई उपेक्षा गरेको गुनासो गरेका थिए । त्यस्तै उनीहरुले वातावरणीय प्रभावलाई ख्याल नै नराखी केबुलकार निर्माण गरेको आरोप पनि लगाएका छन् ।
दुवै समितिको बैठकमा चन्द्रागिरि केबुलकारका विषयमा उजुरी परेपछि समितिहरुले स्थलगत अनुगमन गरेको हुन् । दुवै समितिले सबै विषयको अध्ययन गरिसकेपछि मात्रै चन्द्रागिरि केबुलकारले पारेको वातावरणीय प्रभाव र कानुनी प्रक्रियाबारे वास्तविकता बाहिर आउने छ ।
हेर्नुहोस् अनुगमनको भिडियो :













