१२ माघ, काठमाडौं । मेलम्चीको पाइप जमिनमुनी गाड्नका लागि राजधानीका चौडा सडकदेखि गल्लीसम्म खनिएपछि सडकहरु दुर्घटना बनाउने धराप जस्ता बनेका छन् । भर्खरै पिच गरेका सडकदेखि ब्लक ओछ्याइएका पेटीसमेत यतिवेला खनेर बेहाल पारिएको छ । यो अवस्थाले राजधानीमा दिनहुँ दुर्घटना बढ्दै गएको छ ।
चाबहिल र गौशाला क्षेत्र पनि हप्तौँदेखि अस्तव्यस्त छ । बिहानदेखि बेलुकीसम्मै त्यहाँ जाम हुन्छ र धुलोले सडक कुहिरीमण्डल हुँदा मोटरसाइकलचालक नचिनिने हुन्छन् । कतिपय ठाउँमा पानी चुहावटले हिलो पनि भएको छ । सोमबार दिउँसो एउटा ट्रक जयबागेश्वरीनजिक यस्तै खाल्डोमा पर्यो ।
शनिबार बिहान झिसमिसेमै मर्निङवाकमा निस्किएका हिमाल आरोही सञ्जय पण्डितले कोटेश्वरनजिकै खाल्डोमा एउटा मोटरसाइकल खसेको देखे । त्यसअघि यही खाल्डोमा कार खस्दा केही व्यक्ति घाइते भएका थिए । तर, कार र मोटरसाइकल दुर्घटनापछि पनि त्यो सडक बनाउने त परै जाओस्, ट्राफिक संकेत राख्नेसम्म काम भएको छैन । यस्तो लापरबाहीले काठमाडौंमा दुर्घटना बढेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यो त उदाहरण मात्रै हो । काठमाडौंका धेरैजसो स्थानको सडकको स्थिति यस्तै छ । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले खनिएका सडक कालोपत्रे नहुँदा धुलो बढेको स्विकारे ।
राजधानीमा पहिलेदेखि नै सडक अवस्था खराब रहेकोमा पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले सडक भत्काउने र लामो समयसम्म नबनाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षौंपछि मेलम्चीको पानी खान पाउने आशामा रहेका राजधानीवासीका लागि मेलम्ची आउने खुशीभन्दा पनि अहिलेको सडक जोखिमले चिन्तित पारेको छ ।













