११ माघ, काठमाडौं । नेपाल प्रहरी प्रमुख बन्ने दौडमा रहेका डिआइजी नवराज सिलवालको अर्को काण्ड सार्वजनिक भएको छ । प्रहरीअधिकृतहरुले श्रीमतीमार्फत अवैधानिक काम गर्ने गरेको भनी विभिन्न तथ्यहरु सार्वजनिक भैरहेका वेला सिलावालले आफ्नो पदको दुरुपयोग गर्दै पत्नीमार्फत अवैध कार्य गरेको घटना सर्वोच्च अदालतसम्म पुगेको हो ।
नवराज सिलवाल र गुनबहादुर थापाकाको कारोबारमा सिलवाल पत्नीले बैंकिङ कारोवारअन्तर्गत अनियमित तरिकाले चेक बाउन्स गराएको घटना बाहिर आएको छ ।
गुनबहादुरका बहिनी ज्वाइँ पर्ने तेजबहादुर क्षेत्री र सिलवाल पत्नी श्रृजना सिलवालको विवाद हाल सर्वोच्च अदालतसम्म पुगेको पुगेको समाचार न्युसेवाडटकमले लेखेको छ । गुनबहादुर थापाले बहिनी ज्वाइँ तेजबहादुर क्षेत्रीको नबिल बैँकको खाता md–२०८३२८/३६१०००१५ npr को चेक नं. ०२४६४४१ को साँवा र ब्याज हिसाब गरी २७ लाखको चेक नवराज सिलवालकी पत्नी सिर्जना सिलवालको नाममा काटेका थिए । तर, विवाद बढ्दै जाँदा गुनबहादुरले क्षेत्री मार्फत पैसा फिर्ता गरे पनि श्रृजनाले चेक नफर्काई बाउन्स गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको गुनबहादुर पक्षको भनाइ छ ।
त्यसक्रममा सिलवालले उनीसँग रहेको तेजबहादुर क्षेत्रीको नामको चेक वित्तीय ऐन विपरित बाउन्स गराएको भन्दै पद र पैसाको आडमा जिल्ला अदालत काठमाडौँबाट क्षेत्रीको नाममा रहेको काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका वडा नं. : ६ कि.नं. २९४, २९६ र २९७ को जग्गा रोक्का गरेको देखिन्छ । जिल्ला अदालत काठमाडौंले सिर्जना सिलवालको पक्षमा चेक वाउन्स भएको भन्दै फैसला गर्यो । त्यसको विरुद्ध क्षेत्री र थापा पुनरावेदन अदालत पाटन गए ।
पुनरादेवन अदालतबाट मिति २०७१ साल असार ३१ गते, काठमाडौँ जिल्ला अदालतबाट मिति २०६९।०९।०४ मा भएको फैसला नमिलेको भन्दै फैसला उल्टिएर क्षेत्रीको पक्षमा गयो । मिति २०६६।०८।२९ मा श्रृजनालाई तेज बहादुर क्षेत्रीले चेक दिएका थिए । उक्त चेकमा साटिने मिति २०६६।०९।२९ उल्लेखित थियो । नवराज सिलवाल र गुनबहादुर थापा बिच भएको कारोबारका लागी भनी उक्त चेक तेज बहादुर क्षेत्रीले मात्र ग्यारेन्टीका लागि दिएको थापाले बताउँदै आएका छन् । सिलवालले रोक्का गराएको उल्लेखित जग्गा क्षेत्रीका नाममा भए पनि थापाकै लगानीमा उक्त जग्गा रहेको छ ।
सिलवालले उक्त चेक साटिनुपर्ने मितिबाट १५ महिना पछि मिति २०६८।१२।०१ गते बैँकमा पेश गरेका थिए । तर, वित्तीय ऐनअनुसार चेक काटिएको मितिले ६ महिना भित्र दाखिला गर्दा पर्याप्त निक्षेप नभएको खण्डमा मात्र चेक अनादार मुद्दा दाबी गर्न मिल्ने व्यवस्था छ । र, पुनरावेदनले पनि त्यही कुरा उल्लेख गरेको छ । उक्त चेकमा refer to drawer लेखिएको भए पनि बैँकको आधिकारिक छाप छैन ।














