१ माघ, धनगढी । पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
थारू चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउनका लागि तीन दिन अघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् । वर्षभरी गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एक–आपसमा छलफल हुन थालेका छन् ।
यी पदमा सकभर सहमति गर्ने र सहमति हुननसके निर्वाचनद्वारा छनोट गर्ने गरिन्छ । थारुका घर÷घरमा तीन दिन अघिदेखि नै सुगुर र बङ्गुर काटेर मासुको जोहो गर्ने गरेका छन् । घरकै अनाज प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न यतिखेर थारु महिलाको व्यस्तता बढेको छ ।
यसरी तयार पारिने खानाका परिकार सामूहिक रुपमा खानपिन गरी टोल टोलमा रमाइलो गर्ने चलन यो समुदायमा रहेको छ ।
माघीसङ्क्रान्तिको अघि पछि गरी चार÷ पाँच दिनसम्म मनाइने यो पर्वका बेला प्रत्येक गाउँको मूलघरमा भेला भई खानपिन गरेर रमाइलो गर्ने, प्रत्येक घरमा अंशवण्डा सम्बन्धी काम गर्ने, वर्षभरीमा गाउँमा काम गर्दा भएका कमी कमजोरी सच्याउने प्रतिबद्धता गर्ने गरिन्छ ।
पर्वका बेला आ–आफ्ना विवाहिता छोरीबहिनीलाई घरमा बोलाई दक्षिणाको रुपमा निसराउ अर्थात् नुन र चामल दिने प्रचलन पनि छ ।
मकरसङ्क्रान्तिको अवसरमा पहाडी समुदायका घर÷घरमा भने बिहान पकाइने खाना पहिले कागलाई दिएर खाने परम्परागत छ । कागलाई यमराजको दूत र खबर आदानप्रदान पक्षीका रुपमा लिइने विश्वासमा बिहान ‘का.. कौवा’ भन्दै घरपरिसरमा टपरी वा पातमा खाना राखेर दिने गरिएको जानकार लेखराज ओझा बताउनुहुन्छ ।
यस बाहेक सङ्क्रान्तिको बिहान तरुल पिँडालुलगायतका कन्दमूल उसिनेर खाने गरिन्छ ।
माघीका अवसरमा दाङ उपत्यकालगायत पश्चिम तराईका विभिन्न जिल्लामा मेला समेत लागेका छन् । ‘गुरी गरी जाँर….’ बोलका गीत गाउँदै नाचेर थारुहरुले माघी मनाइरहेका छन् ।












