१४ पुस, कपिलवस्तु । भारतसँग जोडिएको कपिलवस्तुको प्रमुख नाका कृष्णनगरमा ड्युटीमा खटिएका प्रहरीमाथि गोली हानिएको छ । गोली प्रहारबाट नेपाल प्रहरीका दुई सुरक्षाकर्मी घाइते भएका छन्। कृष्णनगरस्थित मूल गेटबाट करिब पाँच सय मिटर पश्चिममा दशगजा क्षेत्रमा ड्युटिमा खटिएका प्रहरी हबल्दार कर्णबहादुर पुन मगर र जवान मोहन श्रेष्ठमाथि गोली प्रहार भएको हो। हवल्दार पुन र जवान श्रेष्ठ दुवैको दाहिने हातमा गोली लागेको छ। दुवै जनाको स्थानीय शाह मेडिकल कृष्णनगरमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
विहीबार दिउँसो करिब दुई बजेतिर भारतीय भूमिबाट गोली चलाइएको थियो । तर, गोली कसले हानेको हो भन्ने कुरा खुल्न नसकेको सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीले बताएका छन्।
एयर गनबाट गोली चलाइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तस्करहरुको समूहले भारतीय भुमि प्रयोग गरी हवल्दार र जवान माथी गोली चलाएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। गोली चलाउनेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक भोजजंग शाहले जानकारी दिएका छन् ।












