१३ पुस, काठमाडौं । नेपाल–चीनबीच सन् २०१७ को सुरुवातमा संयुक्त सैन्य अभ्यास हुन लागेको भनी भारतीय मिडियामा समाचार आएपछि नेपाल सरकारले तत्कालै यसको खण्डन गरेको छ । तिललाई पहाड बनाउने भारतीय मिडियाको कुरा सुनेर त्यसलाई तत्कालै नेपालले प्रतिवाद गर्नुलाई भारतप्रस्त अभिव्यक्तिको रुपमा टिप्पणी गर्न थालिएको छ ।
वुधबार परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपाल र चीनबीच संयुक्त अभ्यासको कुरै नभएको दावी गरे । महतले नेपाल–चीन बीच हुने भनिएको संयुक्त सैन्य अभ्यास, चीनसँग विगतमा भएको सम्झौताको कार्यान्वयन, भारतीय सेना मातहतमा नेपाली सेना शान्ति सेनामा रहने लगायतका विषयमा आएका सार्वजनिक ‘रिपोर्ट’हरु प्रति असन्तुष्टि व्यक्त गरे ।
गत डिसेम्बर २६ मा भारतीय मिडिया ‘टाइम्स अफ इन्डिया’ले नेपाल र चीनले गर्न लागेको संयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको उल्लेख गरेको थियो । जसको जवाफमा चीनको ग्लोबल टाइम्सले लेख नै लेखेर भारतलाई सुझावसहित खण्डन गरेको थियो ।












