९ पुस, विराटनगर । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेकाछन् ।
मोरङको झापा बैजनाथपुरस्थित क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ८७ रनले पराजित गर्दै ३ अंक जोडेको छ । टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभर ३ विकेटको क्षतिमा २ सय ९ रनको योगफल बनाएको थियो । जसमा नरेश बुढाएरले अविजित ८१ रन जोडेका थिए ।
त्यसैगरी, सागर पुनले पनि टोलीलाई ४४ रनको योगदान दिए । अर्कोतर्फ सुदूरपश्चिमाञ्चलको टोलीे निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय २२ रन रोकियो । जसमा रोशन नेपालीले सर्वाधिक ५० रन बनाए । आर्मीको जितमा राहुल विक, सागर पुन, राजेश पुलामी, र विक्रम सोभले समान एक विकेट लिए । त्यसैगरि, दोश्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ । पुलिसको जितमा मंजीत श्रेष्ठले अविजित ४९ रन र दिपेन्द्र ऐरीले अविजित २८ रन जोडेका थिए । यस जितसंगै पुलिस क्लबले समूहमा ३ अंक बनाएको छ ।
हक्कीमा पनि आर्मी नै अगाडि
सातौं राष्टिय खेलकुद अन्तर्गत पुरुष हक्कीतर्फ आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल क्षेत्रले सहज जित हात पारेको छ । त्यसैगरि, महिलातर्फ भने पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चले विजयी सुरुआत गरेका छन् ।
विराटनगरको डिपिएस खेल मैदानमा भएको खेलमा आर्मीले मध्यमाञ्चलमाथि सहज जित निकालेको हो । समूह ए अन्तर्गत भएको खेलमा जित हात पारेको आर्मीका लागि प्रदीप राजवंशी, राम साहले समान दुइ गोल गरेका थिए । त्यसैगरि, सामेल राई, दिपेन्द्र ऐर, प्रेम राई, र जितेन्द्र राईले समान एक गोल गरे । जितसंगै, आर्मीको २ अंक भएको छ । त्यसैगरि, समूह ख को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ । जित हात पारेको सुदूरपश्चिमाञ्चलले समुहमा स्पस्ट दुइ अंक बनाएको छ। आजै भएको महिलातर्फको खेलमा भने सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई चार एक गोल अन्तरले हराएको छ । त्यसैगरि अर्को खेलमा पश्चिमाञ्चलले घरेलु टोली पूर्वाञ्चललाई चार शुन्यले स्तब्ध बनाएको छ ।














