रवि प्याकुरेल
९ पुस, भैरहवा । विश्वमा शान्तिको मुहान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास आयोजनाका रुपमा सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना आगामी दुई वर्षभित्र सम्पन्न हुने भएको छ ।
गुरुयोजनाको हालसम्म करिब ८० प्रतिशत काम सकिएको छ । गुरुयोजनामा उल्लेख गरे अनुसार पवित्र जोन, अन्तराष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, सङ्ग्रहालय लगायतका संरचनाको काम पूरा भएकाले आगामी दुई वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए । पछिल्ला वर्षमा लुम्बिनी गुरुयोजनाका महत्वपूर्ण संरचनाको निर्माणकार्य तीव्ररुपमा हुन थालेको समेत तामाङले बताए
त्यस्तै लुम्विनीमा यस वर्ष अहिलेसम्मकै बढी आन्तरिक पर्यटकको आगमन भएको तामाङले जानकारी दिए । उनले आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दे सोही अनुरुको काम पनि अघि बढाएको दावी गरे

कोषले लुम्विनी क्षेत्रलाई बौद्धकेन्द बनाउनका लागी बौद्ध परिपथ निर्माण कार्यलाई पनि अघि बढाएको जनाएको छ । लुम्बिनी ग्राममा अहिले प्रशासनिक भवन तथा पर्यटक सूचना केन्द्रको निर्माण गरिएको छ ।
विश्व शान्तिको मुहानका रुपमा रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तबाट भएको थियो । लुम्बिनी गुरुयोजना बनाउन ऊ थान्त र राजा महेन्द्रका महत्वपूर्ण योगदान रहेको मानिन्छ । गुरुयोजना सम्पन्न हुँदै गर्दा जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ । दुई वर्षपछि लुम्बिनी गुरु योजना पूर्ण भएमा ४० वर्षको अवधिमा यो सम्पन्न हुने छ ।













