अभय राई/विराटनगर
९ पुस । सातौं राष्ट्रिय खेलकुद अन्तर्गतमहिला फुटबलको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै स्वर्ण पदकमा कब्जा गरेको छ ।
सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा आज शनिबार भएको फाइनलमा दुवै विभागीय टोली निर्धारित समयमा गोल गर्न असफल भएका थिए । पहिलो हाफमा एपिएफले राम्रो मुभ बनाए पनि पुलिसको रक्षापंक्तिले त्यसलाई विफल बनाएको थियो ।
अर्कोतर्फ खेलमा दबाब बनाए पनि पुलिसको अग्रपंक्तिले सोचेअनुसारको प्रदर्शन भने गर्न सकेन अन्ततः खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा एपिएफले चार गोल गर्न सफल भएको थियो भने पुलिस क्लबले दुई गोल मात्र गर्न सफल भयो । उपाधि उचालेको एपीएफका लागि रुपा रानामगर प्लेयर अफ दि म्याच घोषित भइन् ।
त्यसैगरी, आजै भएको तेश्रो स्थानको प्रतिस्पर्धामा जित हात पार्दै त्रिभुवन आर्मी क्लबले कास्य पदक हात पारेको छ । आर्मीले मध्यमाञ्चल क्षेत्रलाई एक गोलका विरुद्ध दुई गोलले पराजित गर्दै कास्य पदक आफनो पोल्टामा पारेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीको तर्फबाट सुस्मिता तामाङ र इन्दिरा राईले गोल गरेका थिए । चौथो स्थानमा खुम्चिएको मध्यमाञ्चलका लागि भने मेनुका नगरकोटीले सान्त्वना गोल गरेकी थिइन् । यस खेलमा नगरकोटीलाई प्लयेर अफ दि म्याच घोषित गरिएको सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दीलिप राईले जानकारी दिए ।












