७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई विप्लव माओवादीका कार्यकर्ताले सर्वोच्च अदालतभित्रै कालोमोसो दलेका छन् । कार्कीविरुद्धको मुद्दाको पेशीका लागि बिहीबार बयानको लागि अदालत पुगेका कार्कीलाई विप्लव माओवादीका दुई कार्यकर्ताले कालोमोसो लगाएका हुन् । कार्की पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुईजनाले कालोमोसो दलेका थिए । कार्कीलाई अपरान्ह ४ बजे माओवादी कार्यकर्ताले अनुहारमा कालोमोसो दलेका थिए ।
कालोमोसो दलिसकेपछि उनीहरुले नेकपा माओवादी जिन्दावाद भन्दै नारा लगाएका थिए । भाग्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच नेकपा माओवादीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भ्रष्ट्राचारीहरु आफ्नो दलको निशानामा रहेको चेतावनी दिएका छन् । देशभरिका भ्रष्टाचारी, राष्ट्रघाती र कालोबजारियाहरुमाथि जनकारवाही गर्ने आफ्नो दलको योजना रहेको उनले बताए ।












