५ पुस, काठमाडौं । काठमाडौंको चन्द्रगिरि पहाडमा केबुलकार संचालन गरेको चन्द्रागिरि हिल्स् लिमिटेडले फैलिएका नकारात्मक कुराहरुकोे खण्डन गरेको छ । वनसम्बन्धि नियम उल्लंघन भएको तथा वातावरणीय प्रभावलाई ध्यान नदिएको भनी आएका समाचारहरुमा सत्यता नभएको भन्दै कम्पनीले आज एक विज्ञप्ती प्रकाशित गरेको छ ।
राजधानीबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुमा प्रकाशित विज्ञप्तीमा भनिएको छ केबलकारको निर्माणस्थल छनोट, विस्तृत आयोजना प्रतिवेदन तयार गर्नेदेखि भौतिक निर्माण र सेवा संचालनसम्मका सबै कार्यहरु विद्यमान ऐन, नियम, कानुन, सम्झौता र कार्ययोजना तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेतको पालना गर्दै नेपाल सरकारले तोकेका मापदण्डहरु अनुरुप नै भएका छन् ।
गत शनिबार कान्तिपुर दैनिकले चन्द्रगिरि केबुलकारले वातावरणलाई ध्यान नदिएको, विभिन्न नेताहरुलाई प्रभावमा पारेर काम गरेको भनी समाचार प्रकाशित गरेको थियो । तर, आज चन्द्रागिरि हिल्स्को सो सूचना कान्तिपुर दैनिकले समेत विज्ञापनका रुपमा प्रकाशित गरेको छ ।
चन्द्रागिरिमा पानी र खानेकुराहरु असाध्यै महङ्गो भएको गुनासो आइरहेका बेला चन्द्रागिरि हिल्सले ती कुराहरुको मूल्य समेत पत्रिकाहरुमार्फत नै सार्वजनिक गरेको छ । अब एक प्लेट ममको रु १६०, एक बोतल पानीको २२ रुपैयाँ र एक कप कफीको रु ४० पर्ने उल्लेख गरिएको छ ।
उद्घाटनका अवसरमा भन्दै सोमबारदेखि विहीबारसम्म केबुलकारको भाडामा समेत ५० प्रतिशत छुट दिइएको छ भने खानेकुराहरुमा थप १५ प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ । यो छुट डिसेम्बर २९ तारिकसम्मका लागि लागू हुने जनाइएको छ ।













