अभय राई /सुनसरी
५ पुस । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरी अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गरेको छ ।
सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफको टोलीले सुदूरपश्चिमाञ्चलको टोलीलाई १ एकका विरुद्ध ४ गोलले पराजित गरेको छ । यस जितसंगै समूह क मा ६ अंक बनाएको एपीएफको टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खेलको ११ औं मिनेटमा एपीएफकी रेखा पौडेलले गोल गर्दै एक शुन्यको अग्रता दिलाएकी थिइन् । एक शुन्यले अग्रता बनाएको एपीएफले भने ८ मिनेट नवित्तै बरावरीको सामना गरेको थियो । सुदूरपश्चिमाञ्चलका लागि खेलको १९ औं मिनेटमा हेमा चौधरीले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । यद्धपी सुदूरपश्चिमाञ्चलले सो गोलको खुशी धेरै समय कायम राख्न सकेन् । खेलको २८ औं मिनेटमा एपीएफकी तेजकुमारी गुरुङले गोल गर्दै टोलीलाई दुइ एकको अवस्थामा पुराइन् । पश्चिमाञ्चल विरुद्ध पहिलो खेलमा गोल गरेकी अनिता केसीले एपीएफका लागि खेलको ३६ औं मिनेट पुन गोल गर्दै टोलीलाई तीन एकको अवस्थामा पुर्याइन् ।
यसपछि मैदानमा शिथिल देखिएको सुदूपश्चिमाञ्चलको टोलीको प्रहार विपक्षी पोष्टमा फितलो देखियो । पहिलो हाफमा ३-१ ले अग्रता बनाएको एपीएफका लागि खेलको ४७ औं मिनेटमा रञ्जना दर्जीले टोलीका लागि अन्तिम गोल गर्दै एपीएफलाई ४-१ गोल अन्तरको जित सुनिश्चित गराएकी थिइन् । यसक्रममा अनिता केसीलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो । यस जितसँगै एपीएफ र नेपाल पुलिस क्लब समूह क बाट समान ६ अंक बनाउदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । त्यसैगरि, आजै भएको दोश्रो खेलमा भने मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई तीन शून्यले पराजित गरेको छ ।
महत्वपूर्ण तीन अंक जोड्ने क्रममा मध्यमाञ्चलका लागि रश्मीकुमारी घिसिंङले दुइ तथा मनिषा थापामगरले एक गोल गरिन् । दुई गोल गरेकी रश्मी प्लयेर अफ दि म्याच घोषित भएको म्याच इन्स्ट्रक्टर मधुसुदन खनालले जानकारी दिए ।
समूह ख बाट यसअघि नै, त्रिभुवन आर्मी क्लब ६ अंक सहित अन्तिम चारमा प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तर्गत भोलि वुधबार एपिएफले नेपाल पुलिसको र अर्को खेलमा मध्यमाञ्चलले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।














