सुनसरीको दुहबीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय दुई टोलीले जितको यात्रा कायम राखेका छन् ।
महिला फुटबलअन्तर्गत दुहबीस्थित टेलिकम खेल मैदानमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको टोलीलाई ४-० ले स्तब्ध बनाउँदा, दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली पूर्वाञ्चललाई ३-० ले पराजित गरेको छ ।
समूह क अन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको टोलीमाथि सहज जित हात पार्दै ३ अंक बनाएको छ । यसजितसंगै तालिकामा ६ अंक जोडेको पुलिस क्लब शीर्षस्थानमा रहेको छ । एकपक्षीय बनेको खेलमा पुलिसले सुरुआत देखि नै पश्चिामाञ्चलमाथि दबाब बनाएको थियो । जसमा निरु थापाले खे्लको दोश्रो मिनेटमै पुलिसका लागि गोल गर्दै खाता खोलेकी थिइन् । त्यसपछि खेलको १९ औं मिनेटमा यशोदा लामाले सुन्दर गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएकी थिइन् । पहिलो हाफमा दुई शुन्यले अग्रता बनाएको पुलिसले ४६ औं मिनेटमा तेश्रो गोल प्रहार गरेको थियो । सो गोल गर्ने क्रममा श्रृजना खड्काले आफनो नाम दर्ता गरेकी थिइन् । तीन शुन्यले पछि परेको पश्चिमाञ्चलका लागि ५७ औं मिनेट थप दुखद रहनपुग्यो । सो समय पुलिसको तर्फबाट मञ्जु गुरुङले पोष्ट नजिकबाट गरिएको प्रहार गोलमा परिणत भएको थियो । पुलिस क्लबले हिजोको खेलमा सुदुरपश्चिमाञ्चलमाथि तीन शुन्यको सहज जित निकालेको थियो । समूहमा ६ अंक बनाएको पुलिसका लागि यशोदा लामा प्लयेर अफ दि म्याच भइन् ।
त्यसैगरि, आजै भएको अर्को खेलमा भने घरेलु टोली पूर्वाञ्चलमाथि त्रिभुवन आर्मी क्लबले तीन शुन्यको सहज जित निकालेको छ । निरीह देखिएको पूर्वाञ्चलविरुद्ध आर्मीका लागि खेलको १६ औं मिनेटमा सुस्मीता तामाङले गोल गरेकी थिइन् । त्यसपछि पहिलो हाफ सकिन ४ मिनेट बाकी रहदा“ पूर्वाञ्चलले खेल बरावरी गर्ने मौकाको रुपमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीका क्रममा कोपिला धिमालले गोल गर्न चुक्दा पूर्वाञ्चलले खेल बराबरी गर्न असफल हुन पुगेको थियो । पहिलो हाफमा एक शुन्यले अग्रता बनाएको आर्मीका लागि दोश्रो हाफमा अग्रता दोब्बर बनाएको थियो । खेलको ४६ औं मिनेटमा इन्दिरा राईले सुन्दर फ्रिक प्रहार गर्दै टोलीलाई दुइ शुन्यको अवस्थामा पुराएकी थिइन् । त्यसैगरि, खेलको अतिरिक्त समय ७२ औं मिनेटमा इन्दिरा राईले व्यक्तिगत दोश्रो गरेकी थिइन् । सोही गोलसंगै आर्मीले पूर्वाञ्चलमाथि सहज जित आत्मसात गरेको थियो । यस जितसंगै पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान विकास मल्लको निगरानीमा रहेको आर्मी समूह ख मा ६ अंक बनाउदै शीर्षस्थानमा रहेको छ । यस खेलमा व्यक्तिगत दुइ गोल गर्न सफल लेटाङकी इन्दिरा राई प्लयेर अफ दि म्याच घोषित भइन् ।
प्रतियोगिता अन्र्तगत भोली चौथो दिन सुदुरपश्चिमाञ्चलले सशस्त्र प्रहरी बलको एपीएफको र मध्यमाञ्चलको टोलीले मध्यपश्चिमाञ्चलको टोलीको सामना गर्ने सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दीलिप राईले जानकारी दिए ।













