अभय राई/विराटनगर
२ पुस । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । सुनसरीको दुहबीमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफले पश्चिमाञ्चलको टोलीलाई ३-० ले स्तब्ध बनाएको छ ।
दुहवीस्थित टेलिकम मैदानमा भएको पहिलो खेलमा जित हात पारेको सशस्त्रका लागि नियमित कप्तान लक्ष्मी पौडेलले खेलको १४ औ मिनेटमा गोल गरेकी थिइन् । सुरुआतदेखि नै अग्रता बनाएर पश्चिमाञ्चलमाथि दबाब बनाएको एपीएफले २२ औंं मिनेटमा अग्रता दोब्बर बनायो । निरीह देखिएको पश्चिमाञ्चलमाथि पुन कप्तान पौडेलले सुन्दर गोल गरिन् । पहिलो हाफमा दुई गोलले पछि परेको पश्चिमाञ्चल त्यसपछि भने खेलमा फर्कन सकेन् । अर्कोतर्फ दुइ गोलले अग्रता बनाएको एपीएफले भने खेलको ६६ औं मिनेट अग्रता तेब्बर बनायो । एपीएफका लागि अनिता केसीले गरेको सो गोल नै अन्तिम गोल भएको थियो । यस जितसंगै समूह क मा रहेको एपीएफको ३ अंक बनेको छ । त्यसैगरि, आजै भएको दोश्रो खेलमा भने पूर्वाञ्चलको टोली र मध्यमाञ्चलको टोली गोलरहित बरावरीमा रोकिएका छन् ।
मोरङको ९ खेलाडीको वर्चश्व रहेको पूर्वाञ्चलको टोलीले खेल अवधिभर विपक्षीलाई दबावमा राखेको थियो । सन्तुलित देखिएको मध्यमाञ्चलको टोलीको खेल भने रक्षात्मक रहेको थियो । पूर्वाञ्चलका लागि गोलकिपर कल्पना कार्की खेलशैली उत्कृष्ठ रहेको थियो । साथै अग्रपंक्तीमा मुना लावती र कप्तान मुना राईको खेलपनि स्तरीय रहेको थियो । यद्धपी, पूर्वाञ्चलको टोलीमा केही त्रुटि देखिएको थियो । टीम म्यानेजरका रुपमा रहेका शंकर राई मैदानमा उपस्थित थिएनन् । उनको स्थानमा ओमप्रकाश मास्केले टिम म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।
धनकुटाको सिंहदेवीस्थित एक फुटबल प्रतियोगिताका क्रममा उनी बाहिर रहेको पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका राईले नेपालदेशलाई टेलिफोनमा जानकारी दिए । यद्धपी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसंग छलफल गरि आफू उक्त भूमिका बस्ने नबस्ने निर्णय गर्ने राईले जानकारी दिएकाछन् । अर्कोतर्फ, पूर्वाञ्चलकै प्रशिक्षक कुमारी राई भन्दा स्वयंसेवक प्रशिक्षकका रुपमा रहेका मनिष तिम्सिना मैदानमा खेलाडीलाई निर्देशन दिन व्यस्त थिए । यस बराबरीसंगै पूर्वाञ्चल र मध्यमाञ्चलले एक एक अंक बाडेका छन् । कुल आठ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा पाच विकास क्षेत्रको टोलीसहित तीन विभागिय टोली रहेका छन् । आठ टोलीलाई दुइ समूहमा विभाजन गरि खेलाईएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए । सातौ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने पौष ८ गते विराटनगरमा र समापन भने १५ गते धरानमा हुनेछ ।













