२ पुस, चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।
माओवादी केन्द्र चितवनको कार्यालयमा आज कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर सरकार अघि बढिरहेको बताए ।
संविधान संशोधन प्रस्तावमाथि विरोध गर्नेहरुले विरोधको औचित्य पुष्टि गर्न नसकेको उनले उल्लेख गरे ।

जबर्जस्ती विरोधको अर्थ नभएको भन्दै उनले मधेस, पहाड, तराई सबैलाई जोड्न संविधान संशोधन प्रस्ताव ल्याइएको बताए । केही दिनमा नै संविधान संशोधनको टुङ्गो लागेर देश निर्वाचनतर्फ धकेलिने दावी उनले गरे । ‘माओवादी केन्द्र’का अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीका कार्यकर्तालाई जिम्मेवार भएर निर्वाचनमा लाग्न निर्देशन दिए ।
गाउँ तहसम्म सङ्गठनलाई सुदृढीकरण गर्दै आउँदो निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एक भएर लाग्न उनको निर्देशन थियो । गृह जिल्ला चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने तयारीमा जुटेका प्रचण्डले जिल्लाको गाउँ तहसम्म पार्टीको सङ्गठन मजबुद बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।











