रवि प्याकुरेल
३० मंसिर, काठमाडौं । नेकपा एमालेको पार्टी मुख्यालय धुम्बाराहीमा सासंद र कार्यकर्ताबिच कुटाकुट भएको छ । प्रदेशहरुको सिमांकन र संविधान संशोधनको औचित्य नरहेको दावी गरिरहेको एमालेका कार्यकर्ताले पुनःसंरचनाकै विवादमा आफ्नै सांसदलाई हात हालेका हुन् । विहीबार पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक चलिरहेकै वेला बझाङका एमाले कार्यकर्ताले बझाङकै सांसद लालबहादुर रावलमाथि अभद्र व्यवहार गरेका हुन् ।
कार्यकर्ता मानबहादुर बोहोराले बझाङ क्षेत्र नं २ का सांसद लालबहादुर रावलमाथि जाइलागेपछि दुवै जनाबीच कुटाकुट चलेको हो । तर कुटाकुटबाट कोही घाइते भने नभएको जनाइएको छ ।
बझाङमा गरिएको स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १५ जनाको प्रतिनिधि मण्डल काठमाडौं आएको थियो । त्यसमा एमालेका स्थानीय नेतादेखि विभिन्न दलका प्रतिनिधि र सांसद समेत थिए ।
डेलिगेसनमा आएकाहरुको माग नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको काडा गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने भन्ने छ । स्थानीय तह पुनःसंरचना आयोगले त्यसलाई अस्वीकार गरेपछि त्यसविरुद्व सांसद तथा स्थानीय प्रनिधिहरुले बसेर छुट्टै गाउँपालिका बनाउने निर्णय गरेका थिए भने त्यही कुरा लिएर उनीहरु काठमाडौं आएका थिए ।
एमाले नेताहरुको ध्यानाकर्षण गराउन नेता अफिलाल ओखेडा र लालबहादुर रावलले पार्टी नेतृत्वसँग छलफल गराउने भन्दै डेलिगेसन प्रतिनिधिलाई धुम्बाराही ल्याएका थिए । त्यहाँ कार्यकर्ताहरुले रावललाई आफूहरुको मागमा समर्थन गर्दै हस्ताक्षर गर्न आग्रह गरे । तर, रावलले ‘म गर्दिन तिमीहरु के गछौं गर’ भन्दै आक्रोश पोखेपछि हातहालाहालको अवस्था आएको कार्यकताहरु मानबहादुर बोहोरा र सुरेन्द्र बोहरोले बताए ।
हेर्नुहोस् भिडियो :
स्थितिलाई नियन्त्रणमा लिन एमाले नेताहर ठाकुर गैरे, सूर्य थापा र राजन भट्टराईलाई हम्मेहम्मे परेको थियो । विवादपछि प्रतिनिधि मण्डलको टोलीको माग पत्र बुझ्दै एमाले अध्यक्ष केपी ओलीले समस्या देखिएको स्थानका विषयमा छलफल गर्ने आश्वासन दिएका छन् ।
(भिडियो : हिमालयन टेलिभ्वाइस मिडिया एजेन्सी)












