२६ मंसिर, काठमाडौं । सुरुका एमाले कार्यकर्ता उपेन्द्र यादव एमाले छाडेर माओवादीमा लागे । माओवादी पनि छाडेर एनजिओ खोले । राजीतिक धङधङी बाँकी रहेका यादवले मधेसमा त्यसैका नाममा आन्दोलन चलाए । आकाशको सपना देखाए । मधेसका सोझा जनताले उनको कुरा पत्याए र आन्दोलनमा साथ दिए । तर त्यो आन्दोलनपछि पनि त्यहाँका जनताले कुनै परिवर्तनको महसुस गरेनन् । केवल निरन्तर आन्दोलनका नाउँमा आफू माथि पुग्ने सपना देखेका उपेन्द यादव अहिले जनता र नेता दुवैबाट एक्लिन थालेका छन् । त्यो एक्ल्याउने काम उनकै मातृ पार्टी एमालेबाट नै भैरहेको छ । अर्थात् उपेन्द्र यादवको पछि लागेका नेता कार्यकर्ता पुरानो घरमा फर्केपछि यादव मात्र होइन ठूलो भाऊ खान आएका अशोक राई र राजेन्द्र श्रेष्ठ समेत यतिवेला चिन्तामा परेका छन् । पूर्व एमाले कार्यकर्ताको गठजोडको संघीय समाजवादी कार्यालयमा यतिवेला सन्नाटा छाएको मात्रै होइन मौन रुवाबासी नै चलेको छ । जसको कारण यस्तो छ :
संघीय समाजवादी फोरम परित्याग गरेर सयौं नेता तथा कार्यकर्ता गत २३ मंसिरमा धुम्बाराहीस्थित एमाले मुख्यालय प्रवेश गर्यो । सोही दिन संघीय समाजवादीको मुख्यालयमा केन्द्रीय समितिको आकस्मिक बैठक डाकियो ।
सो बैठकमा पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताबारे छलफल चल्यो । उनीहरुले पार्टी परित्याग गर्नुको मूलकारण सहअध्यक्ष राजेन्द्र श्रेष्ठ नै रहेको निष्कर्ष निकाले ।
सहअध्यक्ष श्रेष्ठलाई भने, ‘सहअध्यक्षज्यू तपाईं पार्टी बनाउन पनि नसक्ने र साथीहरुलाई त्यसरी निस्कन सहयोग गर्ने काम किन गर्नुहुन्छ ? अनि, दोषचाहिँ अध्यक्षज्यू ?
बैठकमा नेताहरुको यस्तो कुरा सुनेपछि श्रेष्ठको तालु सुकेको थियो । साथै, टोपी मिलाउँदै आफू र आफ्ना पक्षका कार्यकर्ताको बचाउ गरे । यद्यपि, अधिकांशले उनको कुरा पत्याएनन् ।
बैठक स्रोतका अनुसार सहअध्यक्ष श्रेष्ठकै कारण असन्तुष्ट बनिरहेको अर्को समूह पार्टीको लागि अझ घातक हुने निष्कर्ष पनि निकालिएको छ । तर, सहअध्यक्ष श्रेष्ठ ‘पार्टीबाट जो निस्किएपनि झन् राम्रो हुने’ दाबी गर्दै आफ्नो गुट बनाउन उद्यत रहेको स्रोतले जिकिर गर्यो ।
साथै, बैठकका अधिकांशले गत १ जेठमा सम्पन्न आन्दोलन समीक्षा बैठकमा केन्द्रीय सदस्य भूपेन्द्र नेम्बाङले गालीगलौज गर्दै कुट्न खोज्नु सही रहेको निष्कर्षमा समेत पुगेका छन् । अहिले पार्टीकै उच्चस्तरीय नेताहरुले उनलाई ‘सङ्कीर्ण’ नेताको रुपमा अथ्र्याउन थालिसकेका छन् ।
बैठकमा राजनीतिक समिति सदस्य (पोलिटब्युरो) सहित ४ केन्द्रीय सदस्य, भ्रातृ संगठनका महत्वपूर्ण स्थानमा रहेका पदाधिकारीको पार्टी परित्याग र एमाले प्रवेशबारे कुराकानी भयो ।
एमाले प्रवेश गर्नेमा राजनीतिक समिति सदस्य वीरेन्द्र बोगटी, केन्द्रीय सदस्यद्वय टोपबहादुर ओली, प्रकाश अधिकारी, राजेन्द्र खनाल र ओमकृष्ण प्रसाईं थिए ।
उनीहरुले संघीय समाजवादी परित्याग गरेको दुई दिनमै एमाले प्रवेश गरेका थिए । परित्यागसँगै संघीय समाजवादीमा एकखाले कम्पन आएको थियो । तर लगत्तै एमाले प्रवेश गर्दा आकस्मिक बैठक नै डाकियो ।
बैठकमा अधिकांश नेताहरुले वैचारिक रुपमा स्पष्ट रहेका नेता तथा कार्यकर्ता गुमाउनु पर्दा पार्टीलाई क्षति पुगेको बताएका थिए । र, यस विषयमा आधिकारिक विज्ञप्ति र भनाइ सार्वजनिक गर्दा झनै पार्टीलाई क्षति पुग्ने आँकलन भएपछि चुपचाप रहने निष्कर्षका साथ सबै बाहिरिएका थिए ।
राजेन्द्र श्रेष्ठलाई नसहने एउटा तप्का नै संघीय समाजवादीभित्र रहेको छ । काठमाडौंका नेवार समुदायलाई संगठित गर्ने आशा बोकेका उपेन्द्र यादव र उनका सहयोगीले पहिल्यैदेखि श्रेष्ठले संगठन गर्न नसकेको असन्तुष्टि पोख्दै आएका थिए । झन् नेता कार्यकर्ता नै बाहिरिएपछि यो कुरा सतहमा आएको हो ।












