२३ मङ्सिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियाको सुमात्रा टापूको उत्तरी भागमा बुधबार गएको शक्तिशाली भुइँचालोमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले आफ्ना इन्डोनेसियाली समकक्षी जोको उइडोडोलाई आज एक शोक सन्देश पठाउँदै राष्ट्रपति उइडोडोमार्फत इन्डोनेसियाली जनतामा हार्दिक समवेदना एवम् दिवङ्गत भएकाहरुका परिवारजनमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छिन्।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति उइडोडोलाई आजै एक शोक सन्देश पठाउँदै इन्डोनेसियाली जनतामा हार्दिक सहानुभूति एवम् समवेदना प्रकट गरेका छन् ।

पाकिस्तानी राष्ट्रपतिप्रति समवेदना
राष्ट्रपति भण्डारीले पाकिस्तानका राष्ट्रपति मौनुन हुसेनलाई आज एक शोक सन्देश पठाउँदै पाकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी सर्वसाधारणको मृत्यु भएकोमा शोक प्रकट गरेकी छिन् ।
यस्तै प्रधानमन्त्री प्रचण्डले पनि आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफलाई आजै एक समवेदना सन्देश पठाउँदै पाकिस्तानी जनतामा समवेदना व्यक्त गरेका छन् । (रासस)











