२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री रहँदासम्म हावाबाट विजुली र पाइपबाट ग्याँस दिने गफ मात्रै दिएका एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले गरेको लोडसेडिङको जस पनि आफैलाई दिनुपर्ने बताएका छन् । एमाले मुख्यालयमा मधेसी दल फोरमका पाँच जना केन्द्रीय नेता भित्र्याएर हौसिएका ओलीले लोडसेडिङ अन्त्यका लागि आफूले काम गरेको तर त्यसको जस मात्र वर्तमान सरकारले लिएको तर्क गरे ।
वर्तमान सरकारका उर्जामन्त्री जनाद्र्धन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट र त्यसमा भएको भ्रष्ट्राचारलाई नियन्त्रण गर्दै सर्वसाधारणलाई विजुली वितरण गरेको कुरा सबैले बुझ्दाबुझ्दै पनि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । वरु वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेका कारण उसको लोकप्रियता बढ्ने देखेर ओलीले आफ्ना कर्मचारीहरुमार्फत कुलमान घिसिङलाई प्राधिकरणमा पस्न नदिने धम्की दिन लगाएका थिए ।
खोक्रो राष्ट्रवादको नारा दिएर जनतालाई राहत दिने काम गर्दै नगरेका ओलीले भूकम्पपीडितलाई रकम दिनुपूर्व वर्तमान सरकारले रकम खान खोजेको आरोप लगाए । जबकि भूकम्पपीडितलाई एमाले नेतृत्वको सरकारले रकम दिन नमानेका कारण कांग्रेस र माओवादीले संसद अवरुद्ध गरेपछि बाध्य भएर एमाले तयार भएको थियो ।












